राष्ट्र बैंकद्वारा छ वटा लघुवित्तकाे पुँजीकोष अनुपात न्यून भएकाले संस्थामाथि कारबाही

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था र तिनका सञ्चालक, पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ।

राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरी यी संस्था र पदाधिकारीलाई कारबाही गरिएको जनाएको हो।

राष्ट्र बैंकले फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेकाले नियामकीय मापदण्डबमोजिम नरहेको भन्दै बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरेको छ।

राष्ट्र बैंकले धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडलाई पनि २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.३८ प्रतिशत मात्र कायम गरेकाले उही विनियम ३ (क) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरेको छ।

त्यसैगरी मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ४.०८ प्रतिशत मात्र कायम गरेकाले विनियम ३ (ख) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको हो। एनआईसी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई पनि उक्त अवधिमा न्यूनतम पुँजीकोष अनुपात ६.३९ प्रतिशत मात्र कायम गरेकाले विनियम ३ (क) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको छ।

राष्ट्र बैंकले वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई २०८२ चैत महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेकोमा प्रथम पटकका लागि रु ५८.३८ नगद जरिवाना लगाएको छ।

त्यस्तै राष्ट्र बैंकले सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई पनि २०८२ चैत, २०८३ को वैशाख, जेठ र असार महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेकोमा प्रथम, दोस्रो, तेस्रो र चौथो पटकका लागि क्रमशः रु ७१३.८८, रु एक हजार ६७.४०, रु एक हजार ४१२.९१ र रु एक हजार ४१०.७८ नगद जरिवाना गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *