पूर्वप्रधानन्यायाधीश जबरा पक्राउप्रति शङ्कर पोखरेलको आपत्ति
काठमाडौँ, ११ असाेज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले महाराजगन्जस्थित निवासबाट मध्यरातमा कुनै प्रमाण नखुलाई पक्राउ गरेकोमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आपत्ति जनाएका छन्।
पोखरेलले जबराको पक्राउ नेपालको प्रचलित कानुन र न्याय प्रणालीको गम्भीर उल्लङ्घन भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत भएको उल्लेख गर्दै गलत र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु भएको टिप्पणी गरेका छन्।
पोखरेलले सबैलाई गलत कामको खबरदारी गर्न समेत आग्रह गरेका छन्। पूर्वप्रधानन्यायाधीश जबरालाई गएराति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगन्जस्थित निवासबाट पक्राउ गरेको हो। हालसम्म प्रहरीले उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन।
जबराविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो।
