मोइन अलीको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित
काठमाडौं, १२ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । बिहीबार सम्पन्न खेलमा जनकपुरले काठमाण्डु गोर्खाजलाई आठ विकेटले पराजित गरेको हो ।
काठमाण्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा मोइन अलीले अविजित ५८ रन बनाए भने सैफ हसनले अविजित ४० रनको योगदान दिए । अली र हसनबीच तेस्रो विकेटका लागि ७९ रनको साझेदारी भएको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डु १९.३ ओभरमा ११५ रनमा अलआउट भएको थियो । उसका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
काठमाण्डुलाई सस्तैमा समेट्ने क्रममा जनकपुरका राहुल यादवले चार विकेट लिए । सैफ हसनले दुई विकेट लिए भने कप्तान हर्मित सिंह, मोइन अली र ललित राजवंशीले एक–एक विकेट हात पारे ।
यसअघि पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । काठमाण्डुविरुद्धको जितसँगै जनकपुरले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
