नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे आठ अर्ब नाघ्यो

काठमाडौं, १३ कात्तिक । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेको छ । अघिल्लो दिन बुधबार पनि बढेर बन्द भएको बजारले बिहीबारको कारोबारमा समेत वृद्धि कायम राखेको हो ।

यस दिन सेन्सेटिभ इन्डेक्स ६.४१ अंकले बढेको छ । त्यस्तै, फ्लोट इन्डेक्स २.२७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२५ अंकले वृद्धि भएका छन् ।

नेप्से परिसूचकसँगै यस दिन कारोबार रकम पनि बढेको छ । बुधबार सात अर्ब ४५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा बिहीबार आठ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यस दिन ३५० वटा स्टकको दुई करोड ३२ लाख ५८ हजार कित्ता सेयर ६९ हजार ६१९ पटकको कारोबारमार्फत खरिदबिक्री भएको हो । कारोबार रकम करिब साढे छ महिनायताकै उच्च रहेको छ । यसअघि गत वैशाख ३ गते नेप्सेमा करिब साढे नौ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस दिन बेनी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ८० रुपैयाँ ५० पैसाले बढेर ६१७ रुपैयाँ २० पैसा पुगेको छ ।

त्यस्तै, सोपान फर्मास्यूटिकल्सको सेयर मूल्य साढे आठ प्रतिशतभन्दा बढी र नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य साढे पाँच प्रतिशतले बढेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर मूल्य पनि ३.६५ प्रतिशतले वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३५ करोड ६१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सिद्धार्थ बैंकको करिब साढे २५ करोड रुपैयाँ र लक्ष्मी सनराइज बैंकको २४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

यस दिन नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेका छन् । अन्य उपसमूहको परिसूचक सर्वाधिक २.४५ प्रतिशतले वृद्धि भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *