संरक्षणको अभावमा ऐतिहासिक बलामकोट दरबार भग्नावशेष
बागलुङ, १२ कात्तिक । बागलुङ नगरपालिका–८ सिँगानास्थित ऐतिहासिक बलामकोट संरक्षणको अभावमा ओझेलमा परेको छ। प्राचीन समयमा स साना राजाहरूले राज्य सञ्चालन गरेको मानिएको बलामकोट दरबारको भग्नावशेष संरक्षण नहुँदा माटोमुनि पुरिँदै गएको छ।
हाल उक्त क्षेत्रमा माटोका ढिस्का मात्र देखिन्छन्। समयमै उत्खनन् र संरक्षण हुन नसक्दा ऐतिहासिक महत्त्व बोकेको यो स्थल लोप हुने जोखिममा पुगेको छ।
बाइसे–चौबिसे राज्यकालमा बलामी नामका राजाले बलामकोटबाट शासन सञ्चालन गरेको इतिहास पाइन्छ। उक्त क्षेत्रको करिब तीन रोपनी जग्गामा खनजोत गर्दा इँटा, दियो, ओखलसहित दरबारका अन्य भग्नावशेष भेटिएको स्थानीय राजन कार्कीले बताए।
यस दरबारबाट शासन गर्ने राजाले हतियार भण्डारणका लागि हाल सिँगाना र रेशमा रहेका कोतघर प्रयोग गरेको भनाइ छ। ती कोतघरनजिकै बलामकोट दरबार रहेको अनुमान गरिएको स्थानीयले बताएका छन्।
ऐतिहासिक स्थलको उत्खनन गरी भग्नावशेष सङ्कलन र संरक्षण गर्नुपर्ने स्थानीय कविराज जिसीको भनाइ छ। उनका अनुसार सिँगानाबाट रेश, दमेकलगायतका स्थानमा समेत राज्य सञ्चालन भएको पाइएको छ।
नेपालको इतिहासमा राज्य सञ्चालनको महत्त्वपूर्ण थलो, रानी तथा भूमे मन्दिर र कोतघरसँग जोडिएको बलामकोटलाई संरक्षण गरी पर्यटनसँग आबद्ध गर्नुपर्ने स्थानीयको माग छ। सोही क्षेत्रसँग सम्बन्धित सिँगाना कोतघर पुनर्निर्माण गरी आकर्षक बनाइए पनि त्यससँग जोडिएको बलामकोट भने संरक्षणको अभावमा मासिँदै गएको छ।
नगरपालिका–८ का वडाध्यक्ष छमबहादुर कार्कीका अनुसार कोतघरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पुनर्निर्माण तथा संरक्षण गरिएको भए पनि बलामकोटको संरक्षण गर्न सकिएको छैन।
बडादसैँका अवसरमा सिँगाना कोतघरमा चहलपहल बढे पनि कुनै समय राज्य सञ्चालन भएको बलामकोट भने सुनसान छ। हाल उक्त स्थान वनभोजस्थलका रूपमा प्रयोग हुन थालेको छ।
