एसियाली खेलकुदमा नेपाललाई विजयी सुरुआत, अफगानिस्तान ५ विकेटले पराजित

काठमाडौं, ९ असाेज । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी सुरुआत गरेको छ। नेपालले शुक्रबार अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो।

आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपालसामु १०३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले उक्त लक्ष्य १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे। त्यस्तै, कप्तान रोहितकुमार पौडेल ३३ रनमा अविजित रहे। दीपेन्द्रसिंह ऐरीले १५ तथा कुशल मल्लले ९ रन बनाए। अफगानिस्तानका फरिदुन दाउदजाई, अब्दुल्लाह अहमदजाई र अरब गुलले समान १ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो। उसका लागि फेसल खान अहमदजाई र नजिबुल्लाह जाद्रानले समान ३० रन बनाए भने नङ्गेलिया खान १७ रनमा अविजित रहे।

नेपालका लागि बलिङमा कुशल भुर्तेलले ४ विकेट तथा ललितनारायण राजवंशीले ३ विकेट लिए। समूह ‘ए’ मा रहेको नेपालले अब शनिबार आयोजक जापानसँग खेल्नेछ। समूह ‘ए’ मा नेपालसँगै अफगानिस्तान र जापान छन्। समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *