तेन्जिङ शेर्पाले दिलाए नेपाललाई एसियाली खेलकुदमा पहिलो पदक

काठमाडौँ, ७ असोज । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले पहिलो पदक जितेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा नेपाललाई कांस्य पदक दिलाएका हुन् ।

जापानको टोयाहाशी जिम्नेसियममा बुधबार भएको कांस्य पदकको भिडन्तमा तेन्जिङले लाओसका खेलाडी वाथाना जायासनलाई ९–१ ले पराजित गर्दै पदक जितेका हुन् ।

तेन्जिङ यसअघि सेमिफाइनलमा इरानका खेलाडी महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए । त्यसपछि कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै उनले नेपालका लागि पदक पक्का गरेका हुन् ।

जारी प्रतियोगितामा विभिन्न खेलका स्पर्धामा नेपाली खेलाडीले प्रतिस्पर्धा गरे पनि पदक जित्न सकेका थिएनन् । तेन्जिङको कांस्यसँगै २०औँ एसियाली खेलकुदमा नेपालको पदकको खाता खुलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *