एसियाली खेलकुदमा १३ वर्षीया चीनियाँ पौडीवाज यु जिदीको नयाँ कीर्तिमान, जितिन् तेस्रो स्वर्ण

अन्तर्वार्ता दिन अझै पनि लाज मान्ने उनलाई मिडियाले 'पत्रकारको प्रश्नको सामना गर्नु सबैभन्दा गाह्रो काम हो?' भनी सोधेको प्रश्नमा उनले हाँस्दै भनिन्, "अन्तर्वार्ताका बेला मलाई सधैं यहाँबाट कतै अर्कै ठाउँमा तैरिएर भागूँ जस्तो लाग्छ।"

 

टोकियो । चीनकी १३ वर्षीया उदीयमान पौडीवाज यु जिदीले एसियाली खेलकुद (एशियन गेम्स) मा नयाँ नयाँ कीर्तिमानसहित तेस्रो स्वर्ण पदक जितेकी छन्।

बुधबार आयोजित ४०० मिटर इन्डिभिजुअल मेड्ले स्पर्धा ४ मिनेट २८.५६ सेकेन्डमा पूरा गर्दै जिदीले स्वर्ण पदक आफ्नो नाममा पारिन्। यो समयसँगै उनले सन् २०१४ मा चीनकै ये शिवेनले बनाएको नयाँ एसियाली खेलकुदको कीर्तिमानलाई करिब ४.५ सेकेन्डले पछि पारेकी हुन्।

यसअघि २०० मिटर बटरफ्लाई र २०० मिटर इन्डिभिजुअल मेड्लेमा पनि नयाँ कीर्तिमानसहित स्वर्ण जितेकी जिदीले यो जितसँगै आफ्ना तीनवटै व्यक्तिगत स्पर्धामा स्वर्णको ‘ह्याट्रिक’ पूरा गरेकी छन्।

प्रतिस्पर्धामा चीनकै के वेन्सीले रजत र जापानकी मियो नारिताले कास्य पदक जितेका छन्। जिदीले रजत विजेता वेन्सीलाई ३.९५ सेकेन्डको फराकिलो अन्तरले पछि पारेकी थिइन्।

लस एन्जलस ओलम्पिकको बलियो दावेदार

अन्तर्राष्ट्रिय पौडी मञ्चमा एकपछि अर्को सफलता हात पारिरहेकी जिदी सन् २०२८ मा हुने लस एन्जलस ओलम्पिकका लागि मुख्य पदक दावेदारका रूपमा उभिएकी छन्।

गत वर्ष १२ वर्षकै उमेरमा विश्व एक्वाटिक्स च्याम्पियनसिपमा रिले टोलीबाट कास्य जितेर इतिहासकै सबैभन्दा कान्छी पदक विजेता बनेकी थिइन्। गत मार्चमा भएको ‘चीन स्विमिङ ओपन’ मा सात पटककी अमेरिकी ओलम्पिक पदक विजेता रेगन स्मिथलाई हराएर उनले विश्वलाई चकित पारेकी थिइन्।

सामाजिक सञ्जालमा चर्चा र अन्तर्वार्ताको डर

उत्कृष्ट प्रदर्शनका कारण चीनमा उनी रातारात चर्चाको शिखरमा पुगेकी छन्। वाटर पार्कमा रमाइलो गर्ने क्रममा प्रशिक्षकको नजरमा परेर पौडी क्षेत्रमा प्रवेश गरेकी जिदीको सरल स्वभावलाई चिनियाँ सामाजिक सञ्जालमा निकै रुचाइएको छ।

अन्तर्वार्ता दिन अझै पनि लाज मान्ने उनलाई मिडियाले ‘पत्रकारको प्रश्नको सामना गर्नु सबैभन्दा गाह्रो काम हो?’ भनी सोधेको प्रश्नमा उनले हाँस्दै भनिन्, “अन्तर्वार्ताका बेला मलाई सधैं यहाँबाट कतै अर्कै ठाउँमा तैरिएर भागूँ जस्तो लाग्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *