भक्तपुरमा मल्लकालीन मुपात्र तथा याँमता जात्रा सुरु

भक्तपुर, १२ असाेज । भक्तपुरको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको मुपात्र तथा याँमता (राक्षस) जात्रा सोमबारदेखि सुरु भएको छ । इन्द्रजात्राअन्तर्गत मनाइने यो जात्रा असोज कृष्ण द्वितीयादेखि चौँथीसम्म तीन दिन सञ्चालन हुन्छ ।

इतिहास तथा संस्कृतिविद् डा. पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले धार्मिक कथालाई दृश्यमा उतार्दै यो जात्रा प्रचलनमा ल्याएका हुन् । देवराज इन्द्रले आफ्नी आमा वसुन्धराको चतुर्मास व्रतका लागि आवश्यक पारिजात फूल लिन छोरा जयन्तलाई मर्त्यलोक पठाएको कथासँग यो जात्रा जोडिएको छ ।

कथाअनुसार पारिजात फूल टिप्ने क्रममा जयन्तलाई राक्षसहरूले पक्राउ गरी बाँधेर राख्छन् । छोरालाई छुटाउन इन्द्र हात्ती चढेर राक्षससँग युद्ध गर्छन् र राक्षसलाई पराजित गरी जयन्तलाई मुक्त गराउँछन् । यही घटनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै मुपात्र जात्रा चलाइँदै आएको संस्कृतिविद् श्रेष्ठले बताउनुभयो ।

जात्रामा एक जना प्रमुख मुपात्र र दुई जना सहायक ‘धिःचा’ गरी तीन जनालाई राक्षसको पोसाक र शृङ्गारमा सजाएर तरबारसहित भक्तपुर नगर परिक्रमा गराइन्छ । नगरका विभिन्न टोलमा ठड्याइएका यमांद्यःलाई मुपात्रले तीनपटक घुमेर तरबारले प्रहार गरेको अभिनय गर्छन् ।

यसलाई इन्द्रजात्राको पहिलो दिन टोलटोलमा बाँधेर राखिएका जयन्तलाई मुक्त गर्न डोरी काटेको घटनाको प्रतीकका रूपमा लिइन्छ ।

मुपात्र जात्रा सुरु हुनुअघि सःकुलान टोलका मानन्धरहरूले दत्तात्रयस्थित भीमसेन मन्दिरअघि त्रिशूल आकारका दुईवटा याँमता अर्थात् आकाश दीप बाल्ने परम्परा छ । त्यसपछि तचपालस्थित सँला गणेशलाई खटमा राखेर नगर परिक्रमा गराइन्छ ।

जात्राको दोस्रो दिन गोल्मढीका मानन्धरहरूले याँमता बाल्छन् भने चोछें टोलको छुमा गणेशको मूर्तिलाई खटमा राखी तलेजु भवानीको दर्शन गराइन्छ । त्यस क्रममा आकाश दीप बालेर बाजागाजासहित नगर परिक्रमा गरिन्छ ।

जात्राको अन्तिम दिन टौमढीस्थित आकाश भैरवमा सरकारी पूजाअर्चना गरेपछि तल्लो टोलका मानन्धरहरूले बुलुचास्थित ढुङ्गेधाराअघि दुईवटा याँमता बाल्ने परम्परा छ । त्यसपछि मशान भैरवको जात्रासँगै नगर परिक्रमा गराइन्छ ।

अन्तिम दिन खड्गी समुदायले बजाउने विशेष ‘नायखिङ’ बाजासहित नगर परिक्रमा गरिन्छ । त्यसपछि लाकुलाछें टोलबाट पुलुकिसी जात्रा निकालिन्छ । पुलुकिसीले भक्तपुर नगरको आधा भाग परिक्रमा गरेपछि मात्र मुपात्र जात्रा निकाल्ने परम्परा रहेको संस्कृतिविद् श्रेष्ठले बताउनुभयो ।

मुपात्र र पुलुकिसीबीच अन्तिम दिन भेट हुन नहुने मान्यता पनि छ । लोककथनअनुसार पुलुकिसीले मुपात्रलाई कुल्चेर मारेमा अनिष्ट हुने विश्वास रहेकाले दुवैको जात्रा एकअर्कासँग नजुध्ने गरी सञ्चालन गरिन्छ ।

मुपात्र बन्ने व्यक्तिसँग सम्बन्धित छुट्टै सामाजिक परम्परा पनि रहेको बताइन्छ । परम्पराअनुसार मुपात्र बनेपछि जात जाने र भातपानी नचल्ने मान्यता रहेकाले गुठी संस्थानले स्थानीयभन्दा बाहिरका व्यक्तिलाई मुपात्र बनाउने गरेको संस्कृतिविद् श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *