एसियाली खेलकुदमा गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा
काठमाडौँ, असोज १४ । बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ ।
गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । महिला व्यक्तिगत स्ट्रोक प्लेतर्फ भने तारा कार्कीले नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
गल्फ टोलीका मुख्य प्रशिक्षक दीपक थापामगरले यसपटक नेपाली खेलाडीबाट उत्कृष्ट नतिजाको अपेक्षा गरिएको बताउनुभएको छ । खेलाडीले पर्याप्त अभ्यासको अवसर पाएकाले प्रतियोगितामा सकारात्मक नतिजा आउनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।
यसैगरी, जुडोतर्फ निशा श्रेष्ठ, देवकीमाया श्रेष्ठ, विशेष विक र विकास विकले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । निशाले महिला ४८ केजीमुनि, देवकीमायाले ५२ केजीमुनि, विशेषले पुरुष ६६ केजीमुनि तथा विकासले ६० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
कनोइङ स्लालमको पुरुष कायक एकलतर्फ भने नेपालका विजय माझी र आशिष रानामगर सेमिफाइनलमा प्रवेश गरेका छन् । मङ्गलबार भएको हिट चरणमा विजयले २०२.०६ सेकेन्ड तथा आशिषले २११.८६ सेकेन्डमा दूरी पूरा गर्दै क्रमशः १५औँ र १६औँ स्थान हासिल गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार जारी एसियाली खेलकुदमा नेपालबाट विभिन्न खेल विधामा गरी १३५ खेलाडी सहभागी छन् ।
