महिलाले रथ तानेसँगै इन्द्रजात्रा सम्पन्न

काठमाडौँ, १४ असोज । काठमाडौं उपत्यकामा आठ दिनसम्म मनाइएको ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्रा मंगलबार सम्पन्न भएको छ। जात्राको अन्तिम दिन ‘नानिचाः याः’ अन्तर्गत महिलाले मात्र जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ तानेसँगै यस वर्षको इन्द्रजात्रा विधिवत् रूपमा सम्पन्न भएको हो।

वि.सं. २०६९ सालदेखि सामुदायिक छलफलमार्फत नानिचाः याःका दिन महिलाले मात्र रथ तान्ने परम्परा सुरु गरिएको हो। यसअघि भीडभाडका कारण महिलाहरू घरका झ्यालबाट मात्र जात्रा हेर्न सीमित हुने तथा रथ तान्ने डोरीसमेत छुन नहुने मान्यता रहेको बताइन्छ।

मंगलबार परम्परागत नेवारी पहिरन हाकुपटासीमा सजिएका सयौँ महिला तथा युवतीले सामूहिक रूपमा रथ तानेका थिए। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल पनि जात्रामा सहभागी भएकी थिइन्। उनले रथ तान्नुका साथै परम्परागत धिमे बाजा बजाएर जात्रामा सहभागिता जनाइन्।

अन्तिम दिन वसन्तपुरबाट सुरु भएको रथयात्रा नरदेवी, भेडासिङ, किलागल, इन्द्रचोक र मखन हुँदै पुनः वसन्तपुर पुगेको थियो।

रथ वसन्तपुर फर्किएपछि इन्द्रध्वजा फहराइएको लिङ्गो ढाल्ने विधि गरिन्छ। मंगलबार राति लिङ्गो ढालेर तान्दै बागमती नदीमा लगी विसर्जन गरेपछि यस वर्षको इन्द्रजात्रा औपचारिक रूपमा समापन हुने जनाइएको छ।

इतिहासअनुसार राणाकालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले किलागल टोलमा बस्ने आफ्नी प्रेमिका ‘नानिचा’को इच्छाअनुसार उनको टोलबाट समेत रथयात्रा अवलोकन गर्ने व्यवस्था मिलाउन तेस्रो दिनको जात्रा थप गरेको मान्यता छ। सोही परम्परासँग जोडिएर अन्तिम दिनको रथयात्रालाई ‘नानिचाः याः’ भनिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *