कैलालीमा ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिटको आरोपमा तीन पक्राउ
धनगढी, १७ असोज । कैलालीमा ड्युटीमा खटिएका नेपाल प्रहरीका दुई कर्मचारीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
भजनी नगरपालिका–३ ठेकीपुरचोकमा भारतबाट मोटरसाइकलमा ल्याइँदै गरेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत प्रहरीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ पर्नेमा भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउद र गम्भीर साउद रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले प्रहरी हवल्दार विनयप्रसाद चौधरी र प्रहरी जवान देवराज जोशीमाथि कुटपिट गरेका थिए। घाइते दुवै प्रहरीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
डीएसपी तिमिल्सिनाका अनुसार अवैध सामान ओसारपसारमा प्रयोग भएको आरोपमा से ४ प ११७१ र सु.प.प्र. ०१–०११ प ६४१ नम्बरका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
