कांग्रेसको १५औँ महाधिवेशन सुरु, खुलामञ्चमा शीर्ष नेताको जमघट
काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौँको खुलामञ्चमा सुरु भएको छ। ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित महाधिवेशन सुरु भएको हो।
कांग्रेस सभापति गगनकुमार थापाले पूर्वसभापतिहरूको तस्बिरमा माल्यार्पण, दीप प्रज्वलन तथा बिरुवामा पानी हालेर महाधिवेशनको उद्घाटन गर्नुभएको छ।
उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र रेशमलाल चौधरीलगायतका नेताहरू पनि समारोहमा सहभागी भएका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुनुभएको छ।
महाधिवेशनमा कांग्रेसका देशभरका प्रतिनिधि तथा कार्यकर्ताको सहभागिता रहेको छ। उद्घाटन समारोहपछि महाधिवेशनका विभिन्न कार्यक्रम अघि बढ्ने कांग्रेसले जनाएको छ।
