कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्तामा यी कागजात अनिवार्य, मनोनयन दर्ता साँझ ६ बजेसम्म थप

काठमाडौँ, २० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सुरु भएसँगै निर्वाचन समितिले आवश्यक कागजात र प्रक्रिया स्पष्ट पारेको छ।

उम्मेदवारले आफूले दिन चाहेको पदअनुसारको फारम पूर्ण रूपमा भरेर बुझाउनुपर्नेछ। फारममा सम्बन्धित पदका लागि तोकिएका महाधिवेशन प्रतिनिधिमध्येबाट प्रस्तावक र समर्थक राख्नुपर्ने व्यवस्था छ, तर उम्मेदवार आफैँले आफ्नो पदका लागि प्रस्तावक वा समर्थक बन्न पाउँदैनन्।

उम्मेदवारी दर्ताका क्रममा तोकिएको शुल्क बुझाएको बैंक भौचर वा रसिद अनिवार्य संलग्न गर्नुपर्नेछ, जसमा उम्मेदवारको नाम स्पष्ट खुलेको हुनुपर्ने निर्वाचन समितिले जनाएको छ। साथै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको प्रमाणपत्र र सरकारले जारी गरेको आधिकारिक परिचयपत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ। समावेशी क्लस्टरबाट उम्मेदवारी दिनेले सम्बन्धित क्लस्टरमा पर्ने प्रमाणित गर्ने प्रमाणपत्रको प्रतिलिपि समेत बुझाउनुपर्नेछ।

यसबाहेक क्रियाशील सदस्यताको निरन्तरता प्रमाणित गर्ने सिफारिस पनि फारमसँगै बुझाउनुपर्ने व्यवस्था छ।

निर्वाचन समितिले फारम, प्रस्तावक–समर्थक, शुल्क भौचर, प्रतिनिधि प्रमाणपत्र, परिचयपत्र, क्लस्टर प्रमाणपत्र र क्रियाशील सदस्यताको सिफारिसलगायत सबै कागजात पूरा भए–नभएको रुजु गर्नेछ। यी सबै कागजात पूरा गरेर मात्र केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्न सकिनेछ। निर्वाचन समितिले उम्मेदवारहरूको मनोनयन पत्र दर्ता समय थप गरेको छ।

समितिका अनुसार मनोनयन पत्र दर्ता समय आज दिउँसो ४ बजेसम्म तोकिएकोमा यसलाई लम्बाएर साँझ ६ बजेसम्म थप गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *