हावाहुरी र वर्षाले कांग्रेस महाधिवेशनको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी

काठमाडौं, २१ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजको बन्द सत्र हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ। महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याएर पारित गर्ने तयारी भइरहेका बेला अचानक ठूलो वर्षा भएपछि कार्यक्रम प्रभावित भएको हो।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बिहान साढे १० बजे सुरु गर्ने भनिएको बन्द सत्र खाजा समयपछि साढे ११ बजे सुरु गर्ने तयारी गरिएको थियो। तर हावाहुरीसहितको वर्षा भएपछि खुलामञ्चमा महाधिवेशन प्रतिनिधिहरू पुग्न सकेका छैनन्।

कांग्रेसले महाधिवेशनको बन्द सत्र काठमाडौंको खुलामञ्चमा सञ्चालन गरिरहेको छ। भृकुटीमण्डपमा खाना तथा अन्य व्यवस्थापन गरिएको छ भने राष्ट्रिय सभागृहमा निर्वाचन समितिले निर्वाचनसम्बन्धी काम गरिरहेको छ। नेतृत्व चयनका लागि भोलि बिहान मतदान हुँदैछ।

कांग्रेसले खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्द सत्रमा सहभागी हुन दिने व्यवस्था गरेको छ। प्रवक्ता चालिसेका अनुसार यसअघि विशेष महाधिवेशनमा पनि बन्द सत्र सबैका लागि खुला गरिएको थियो।

बन्द सत्रको प्रत्यक्ष प्रसारण नेपाली कांग्रेसको फेसबुक पेजबाट गरिने र सञ्चारमाध्यमलाई समेत कार्यक्रम प्रत्यक्ष प्रसारण गर्न अनुमति दिइएको कांग्रेसले जनाएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *