तीन वर्षपछि भक्तजनका लागि खुल्यो तालबाराही मन्दिर

काठमाडौँ, असोज २५ । पोखरास्थित फेवातालको मध्य भागमा रहेको प्रसिद्ध तालबाराही भगवती मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि तीन वर्षपछि आजदेखि भक्तजनका लागि खुला गरिएको छ । घटस्थापनाको अवसर पारेर मन्दिरमा विधिवत् पूजाआजा सुरु गरिएसँगै भक्तजनले पुरानै शिलामा दर्शन तथा पूजाआजा गर्न पाउने भएका छन् ।

तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष एवं पुजारी महेश्वर पहारीका अनुसार क्षमा पूजा गरी देवीको शक्ति पुरानो शिलामा प्रतिस्थापन गरेर मन्दिर खुला गरिएको हो । उहाँले अब भक्तजनले पुरानै शिलामा दर्शन तथा पूजाआजा गर्न सक्ने बताउनुभयो ।

विसं २०८० कात्तिकदेखि मन्दिरको पुनर्निर्माण सुरु भएपछि नियमित पूजाआजा बन्द गरिएको थियो। त्यस अवधिमा मन्दिरनजिकै रहेको हवनकुण्ड क्षेत्रमा चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी पूजाआजा सञ्चालन हुँदै आएको थियो। मन्दिर पुनः खुला भएको पहिलो दिन नै दर्शनार्थीको भीड लागेको थियो। नवरात्र सुरु भएसँगै आगामी दिनमा भक्तजनको चहलपहल थप बढ्ने अपेक्षा गरिएको छ।

विसं २०७२ को विनाशकारी भूकम्पका कारण मन्दिर करिब तीन इन्च दक्षिणतर्फ ढल्किनुका साथै केही भाग दबिएपछि संरचनामा जोखिम देखिएको थियो। पुरातत्त्व विभागको निर्देशन तथा समन्वयमा तीन वर्ष लगाएर मन्दिरको पुनर्निर्माण गरिएको गुठी व्यवस्थापन समितिले जनाएको छ। पुनर्निर्माणमा एक करोड ६५ लाख रुपैयाँ खर्च भएको समितिले जानकारी दिएको छ।

मन्दिरको मौलिक स्वरूप र परम्परागत वास्तुकला कायम राख्दै पुनर्निर्माण गरिएको हो। प्यागोडा शैलीमा निर्मित मन्दिरको पुनर्निर्माणका लागि भक्तपुर र ललितपुरबाट दक्ष कालीगढ ल्याइएको थियो। तहगत छाना, काठका कलात्मक संरचना, परम्परागत झ्यालढोका र धार्मिक आकृतिले मन्दिरको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व झल्काउँछन्।

फेवातालको बीचमा अवस्थित तालबाराही मन्दिर धार्मिक आस्थाको केन्द्र हुनुका साथै पोखराको प्रमुख पर्यटकीय आकर्षणसमेत हो। डुङ्गाबाट मन्दिर पुग्ने क्रममा तालको प्राकृतिक सौन्दर्य, वरपरको हरियाली र हिमाली दृश्यको अवलोकन गर्न सकिने भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण रहने गरेको छ ।

स्थानीय धार्मिक मान्यताअनुसार तालबाराही मन्दिरको इतिहास राजा कुलमण्डन शाहको समयदेखि जोडिएको छ। फेवातालको बीचमा रहेको ढिस्कोमा खरको झुप्रो बनाएर मन्दिर स्थापना गरिएको जनश्रुति छ। मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहेको स्थानीय विश्वास छ। सुरुमा माटोको ढिस्कोमा रहेको शिलालाई देवीका रूपमा पूजा गर्न थालिएको र पछि त्यही स्थानमा मन्दिर निर्माण गरिएको बताइन्छ ।

तत्कालीन राजा महेन्द्रले विसं २०१७ मा मन्दिरलाई अहिलेको स्वरूपमा निर्माण गराउनुभएको थियो । त्यसयता तालबाराही मन्दिर पोखराको धार्मिक तथा पर्यटकीय पहिचानका रूपमा स्थापित हुँदै आएको छ ।

फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले बाढीका कारण पर्यटक आगमन घटेसँगै डुङ्गा चढ्ने यात्रुको सङ्ख्यामा समेत कमी आएको बताउनुभयो । मन्दिर पुनः खुला भएपछि दर्शनार्थी तथा पर्यटकको आवागमन बढ्ने र डुङ्गा व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने उहाँको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *