नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घटेर साढे ४ अर्बमा सीमित

काठमाडौँ, २६ असोज । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। लगातार तेस्रो कारोबार दिन वृद्धि भएको नेप्से ४ अंक बढेर २ हजार ५९५.८१ विन्दुमा पुगेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स १.९६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंकले उकालो लागेको छ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। गत शुक्रबार ४ अर्ब ८३ करोड रुपैयाँको शेयर कारोबार भएकोमा सोमबार ३५४ कम्पनीका १ करोड २७ लाख १९ हजार कित्ता शेयर ४९ हजार ८०९ पटकको कारोबारमार्फत किनबेच भएका छन्। यस दिन कुल ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ।

कारोबारमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको शेयर मूल्य १६४ रुपैयाँ १० पैसाले बढेर १ हजार २५९ रुपैयाँमा अन्तिम कारोबार भएको हो। त्यस्तै, स्नो रिभर्सको शेयर मूल्य करिब १५ प्रतिशत बढेको छ। अर्कोतर्फ, रिज लाइन इनर्जीको शेयर मूल्य सर्वाधिक ६.२९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २५ करोड १९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। घलेम्दी हाइड्रोको करिब २० करोड रुपैयाँ र साहस ऊर्जाको साढे १९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूह घटेका छन्। व्यापार उपसमूह सर्वाधिक १.०२ प्रतिशतले बढ्दा बैंकिङ उपसमूह १.०१ प्रतिशतले उकालो लागेको छ। होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक भने सामान्य घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *