नेप्से चौथो दिन पनि उकालाेमा, कारोबार रकम पनि बढ्यो
काठमाडौं, २७ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.१२ अंकले बढेर २ हजार ५९९.९३ विन्दुमा पुगेको छ। पछिल्ला तीन कारोबार दिनदेखि बढ्दै आएको नेप्सेले मंगलबार पनि सकारात्मक लयलाई निरन्तरता दिएको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स २.३५ अंक, फ्लोट इन्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८४ अंकले बढेका छन्। नेप्सेसँगै मंगलबार कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ४६ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा मंगलबार ३५१ वटा स्टकको ४६ हजार ६५९ पटकको कारोबारमा ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार रुपैयाँबराबरका १ करोड ३५ लाख ५३ हजार कित्ता शेयर किनबेच भएका छन्।
मंगलबार सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक १२.४४ प्रतिशतले बढेको छ। अन्य स्टकको मूल्यवृद्धि भने ५ प्रतिशतभन्दा कम रहेको छ।
यस दिन स्नो रिभर्सको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य १४९ रुपैयाँ ९० पैसाले घटेर ८४९ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको हो। त्यस्तै, धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३६ करोड ४७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, माउन्टेन इनर्जीको करिब २६ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने कुमारी बैंकको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ। माउन्टेन इनर्जीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।
मंगलबार कारोबारमा रहेका १३ उपसमूहमध्ये पाँचको परिसूचक बढेको छ भने आठको घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.७७ प्रतिशतले बढेको छ। बैंकिङ, विकास बैंक, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक पनि सामान्य बढेका छन्।
