नेवार समुदायको मौलिक पर्व ‘कुछी भ्वय’ : कुलघरमा भेला भएर भोज खाने परम्परा

काठमाडौँ, २ कात्तिक । नेवार समुदायमा बडादसैँको अवसरमा मनाइने महत्वपूर्ण सांस्कृतिक परम्परामध्ये ‘कुछी भ्वय’ पनि एक हो । परिवारका सदस्यहरू कुलघरमा भेला भएर परम्परागत परिकारसहित भोज खाने यस प्रचलनले पारिवारिक एकता, पुर्खाप्रतिको सम्मान र सांस्कृतिक निरन्तरताको सन्देश दिने गर्छ ।

नेपाल भाषामा ‘कुछी’ भन्नाले दुई माना च्युरा र ‘भ्वय’ भन्नाले भोज बुझिने भएकाले दुई माना चिउरा राखेर खाने भोजलाई ‘कुछी भ्वय’ भनिएको एकथरीको भनाइ छ । तर, केही संस्कृतकर्मीका अनुसार यसको नाम ‘कुलछी भ्वय’ बाट अपभ्रंश हुँदै ‘कुछी भ्वय’ बनेको हुन सक्ने बताएका छन् । ‘कुलछी’ भन्नाले कुलघर र ‘भ्वय’ भन्नाले भोज बुझिने भएकाले कामकाजका सिलसिलामा विभिन्न ठाउँमा छरिएर बसेका परिवारजन यस दिन आफ्नो कुलघरमा भेला भएर भोज खाने परम्परासँग यसको नाम जोडिएको मानिन्छ ।

कुछी भ्वय केवल खानपानमा सीमित परम्परा होइन । यसले कुल, पुर्खा र उनीहरूले अपनाउँदै आएका संस्कारलाई सम्झने अवसरसमेत प्रदान गर्छ । समयसँगै जीवनशैली परिवर्तन भए पनि पुर्खादेखि चलिआएका सांस्कृतिक अभ्यासलाई जोगाएर राख्नु यसको महत्वपूर्ण पक्ष हो ।

परम्परागत रूपमा केराको पातमा चिउरा र विभिन्न परिकार राखेर कुछी भ्वय खाने गरिन्छ । यसमा दुई माना चिउरासँगै फर्सी, गुन्द्रुक, हरियो साग, केराउको अचार, मासुका केही परिकार र भुटनलगायत परिकार समावेश गरिन्छ । तरकारीका १२ थरी परिकार र छोयलाका १२ टुक्रा राख्ने चलन पनि रहेको छ । पछिल्लो समय मासु, गेडागुडी र तरकारीका विभिन्न परिकार थपेर भोज खाने प्रचलन छ ।

भोजका क्रममा पूजा गरी सानो आकारका १२ भागको भोज तयार पारेर ढिकुटीमा राख्ने परम्परासमेत रहेको छ । भोज खानुअघि ‘खें सगं’ अर्थात् अण्डा सगुन लिने चलन छ । यसका लागि जाँड राख्ने भाँडो ‘स्वंमा’ मा माछा र अण्डाका टुक्रा राखेर परिवारका सदस्यहरूको अगाडि रहेको कचौरामा खन्याइन्छ । जसको कचौरामा माछा वा अण्डा पर्छ, उसलाई भाग्यमानी मान्ने विश्वास छ ।

कचौरामा जाँड राखिसकेपछि घरकी ज्येष्ठ महिलाले एक हातमा जाँडको कचौरा र अर्को हातमा बारा, अण्डा, माछा तथा मासु लिएर परिवारका सदस्यलाई सगुन दिने परम्परा छ । यसले परिवारमा ज्येष्ठ सदस्यको सम्मान र पारिवारिक संस्कारको निरन्तरतालाई पनि झल्काउँछ ।

नेवार समुदायमा जुठो परेको अवस्थामा पनि कुछी भ्वय खाने मान्यता रहेको छ । तर, जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन छ । त्यस्तै, नयाँ बुहारी भित्र्याएको घरमा दाजुभाइलाई विवाह भोज अर्थात् ‘ग्वयसा भ्वय’ नखुवाइएको अवस्थामा ती बुहारीलाई कुछी भ्वयमा सहभागी नगराउने चलनसमेत रहेको छ ।

कुछी भ्वयका परिकार, विधि र नामबारे विभिन्न व्याख्या पाइए पनि यसको मूल मर्म परिवारका सदस्यलाई एकै ठाउँमा जुटाउनु, पुर्खाको सम्झना गर्नु र परम्परागत संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु हो । आधुनिक जीवनशैलीसँगै यस्ता मौलिक परम्पराको संरक्षणले नेवार समुदायको सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *