कात्तिक १४ गते नारायणगढमा ‘राइनो दौड प्रतियोगिता’ हुने

काठमाडौँ, कार्तिक २ । राइनो क्लब, नारायणगढको आयोजनामा यही कात्तिक १४ गते ‘राइनो दौड प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ । पाँच किलोमिटर दूरीको उक्त दौड गैँडाकोटस्थित जयश्री पुलबाट सुरु भई नारायणगढको लीलाचोकमा पुगेर समापन हुने कार्यक्रम तय गरिएको छ ।

प्रतियोगिता संयोजक महेश प्रधानका अनुसार दौड महिला तथा पुरुष दुवै विधामा सञ्चालन गरिनेछ। दुवै समूहका विजेताहरूलाई समान नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपियाँ नगदसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, निर्धारित ३० मिनेटभित्र दूरी पार गर्ने सम्पूर्ण सहभागीहरूलाई ‘फिनिसर प्रमाणपत्र’ प्रदान गरिनेछ । ५० वर्षभन्दा माथिका भेट्रान धावकहरूलाई विशेष सम्मान गर्ने योजना रहेको प्रतियोगिताका सह–संयोजक रोहित श्रेष्ठले जानकारी दिनुभयो ।प्रतियोगितामा सहभागी हुन १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले दुई सय रुपैयाँ शुल्क तिरेर नाम दर्ता गराउन सक्नेछन् ।

क्लबका सल्लाहकार राजु श्रेष्ठका अनुसार राइनो क्लबले वि.सं. २०३७ देखि नै यस क्षेत्रमा दौडलगायत विविध खेलकुद गतिविधि सञ्चालन गर्दै आएको थियो । केही समययता स्थगित हुन पुगेको यस ऐतिहासिक प्रतियोगितालाई यसै वर्षदेखि पुनः निरन्तरता दिन लागिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *