धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

दुर्घटना

काठमाडौँ, कार्तिक २ । धनुषाको धनुषाधाम-सबैला भित्री सडकखण्डअन्तर्गत सबैला नगरपालिका ५, मखनाहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दुर्घटनामा परेर मोटरसाइकल चालक धनुषाधाम नगरपालिका ७ निवासी २० वर्षीय धीरज मण्डलको मृत्यु भएको हो ।

सबैलाबाट धनुषाधामतर्फ जाँदै गरेको मधेश प्रदेश ०२-००१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९०३१ नम्बरको बसले गएराति ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका धीरजलाई तत्काल उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार मोटरसाइकलको पछाडि सवार १६ वर्षीय नीरज मण्डल र लक्ष्मीनियाँ गाउँपालिका २ निवासी २० वर्षीय राकेश मण्डल घाइते भएका छन् ।

घाइतेमध्ये नीरजको अवस्था गम्भीर रहेको छ । दुवै घाइतेको जनकपुरधामस्थित योगी ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस तथा चालक धनुषाधाम नगरपालिका २ निवासी २२ वर्षीय नागेन्द्र महरालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *