पहिरो र बाढीका कारण तीन जिल्लामा राजमार्ग प्रभावित

राजमार्ग अवरुद्ध

काठमाडौँ, कात्तिक २ । अविरल वर्षा तथा प्राकृतिक विपद्का कारण गण्डकी र कर्णाली प्रदेशका तीन जिल्लामा मुख्य सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार म्याग्दी, गोरखा र सुर्खेतका विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा सवारी आवागमन प्रभावित भएको हो ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका २, बैसरीमा खसेको पहिरोका कारण बेनी जोमसोम सडकखण्ड हाल एकतर्फी मात्र सञ्चालनमा छ । उक्त स्थानमा गएको असोज १ गते बिहानदेखि नै सडक प्रभावित हुँदै आएको छ ।

त्यसैगरी, गोरखाको आरुघाट गाउँपालिका १ स्थित नयाँपुल क्षेत्र तथा वडा नम्बर २ र ३ मा आएको बाढीले आरुघाट–धादिङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ। बाढीका कारण स्थानीय फलामे पुलमा क्षति पुगेपछि आज बिहान ५ः३० बजेदेखि यातायात आवागमन ठप्प भएको प्रहरीले जनाएको छ।

उता सुर्खेतको बराहताल गाउँपालिका ७, औलिसेमा खसेको पहिरोका कारण कर्णाली राजमार्ग पनि एकतर्फी मात्र सञ्चालन भइरहेको छ। सो सडकखण्ड कात्तिक १ गते बिहानदेखि प्रभावित बनेको हो ।

हाल अवरुद्ध सडकहरू पूर्ण रूपमा खुलाउन र यातायात सहज बनाउन सम्बन्धित निकायसँग समन्वय गरी कार्य भइरहेको प्रहरीले जनाएको छ । साथै, सडकको जोखिमपूर्ण अवस्थालाई ध्यानमा राखी यात्रा गर्दा उच्च सतर्कता अपनाउन चालक तथा यात्रुहरूलाई अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *