हिमाली क्षेत्रका चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक कृषक एकजुट
नवौँ रोयल हाइल्यान्ड महोत्सव
काठमाडौँ, कात्तिक २ । हिमाली क्षेत्रमा याक तथा चौँरीपालनमा देखिएका साझा समस्या समाधान र सहकार्यका लागि नेपाल, भुटान र भारतका याकपालक कृषकहरू एकजुट भएका छन् । तीनै देशका कृषकहरूको सहभागितामा भुटानमा आयोजना हुने ‘नवौँ रोयल हाइल्यान्ड महोत्सव’का अवसरमा ‘हिमालय याकपालक सञ्जाल’को औपचारिक शुभारम्भ गरिँदै छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार यो सञ्जाल हिमालय क्षेत्रका याक कृषक समुदायमा मात्र केन्द्रित पहिलो क्षेत्रीय मञ्च हो । जलवायु परिवर्तन, चरन क्षेत्रको क्षयीकरण तथा युवा वर्गको तीव्र बसाइँसराइका कारण हिमाली जनजीवन प्रभावित भइरहेका बेला कृषक, सरकार र विकास साझेदारहरूबीच करिब एक दशकदेखि जारी सहकार्यपछि यो मञ्च स्थापना भएको हो। विश्व ‘रेनडियर एसोसिएसन’को सीमापार अभ्यासबाट प्रेरित यस सञ्जालको सचिवालय भुटानमा रहनेछ।
आगामी असोज ६ र ७ गते भुटानमा आयोजना हुने महोत्सवमा त्यहाँका राजा तथा प्रधानमन्त्रीसहित याक तथा चौँरी कृषक महासङ्घ नेपाल, भुटान याक महासङ्घ, याक फेडेरेसन अफ इन्डियाका प्रतिनिधि, अनुसन्धानकर्ता तथा सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।
इसिमोडका वरिष्ठ पशुपालन तथा चरन क्षेत्र विशेषज्ञ ताशी दोर्जीका अनुसार हिमाली समुदायको जीविकोपार्जनको मुख्य आधार बनेको याकपालन पछिल्ला वर्षहरूमा संकटमा पर्दै गएको छ। याकको घट्दो सङ्ख्या, चरन क्षेत्रको क्षयीकरण, आनुवंशिक विविधतामा ह्रास, वन्यजन्तुबाट पशुधनमा हुने क्षति, कमजोर बजार पहुँच र युवाको पलायनजस्ता चुनौती सीमापार तहसम्म फैलिएकाले यसको समाधानमा क्षेत्रीय सहकार्य अनिवार्य बनेको दोर्जीले बताउनुभयो। यो सञ्जालले सामूहिक पैरवी, ज्ञान आदानप्रदान, क्षमता विकास तथा याकको आनुवंशिक स्रोत संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
सन् २०१६ मा इसिमोडको कञ्चनजङ्घा भू–परिदृश्य संरक्षण तथा विकास पहलमार्फत सुरु भएको छलफलपछि सन् २०१८ मा नर्वेमा आयोजित आर्कटिक फ्रन्टियर्स सम्मेलनबाट यस क्षेत्रीय मञ्चको अवधारणा अघि बढेको थियो। त्यसपछि क्रमशः भुटानमा सन् २०२२, नेपालमा सन् २०२३ र भारतमा सन् २०२५ मा राष्ट्रिय महासङ्घ गठन भएका थिए। सन् २०२५ मा भियतनाममा आयोजित दिगो पशु कृषिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा तीनै देशका प्रतिनिधिले संयुक्त सञ्जाल गठन गर्ने औपचारिक प्रतिबद्धता जनाएका थिए।
तीन देशमा चरन क्षेत्र र याकपालनको अवस्था
हिन्दूकुश हिमालय क्षेत्रको ६० प्रतिशतभन्दा बढी भू–भाग चरन क्षेत्रले ओगटेको छ, जसमा करिब तीन करोड आदिवासी तथा स्थानीय समुदाय प्रत्यक्ष निर्भर छन् ।
नेपाल : राष्ट्रिय कृषि गणना (२०२१/२२) अनुसार नेपालका ९ हजार ८९९ कृषकले करिब ५३ हजार १९५ याक, नाक तथा चौँरी पालेका छन्। नेपालको कर्णाली प्रदेशमा मात्रै देशको कुल चरन क्षेत्रको ३४ प्रतिशत हिस्सा रहेको छ, जहाँबाट वार्षिक करिब ३ करोड ६० लाख रुपैयाँ बराबरको ८२ प्रजातिका औषधीय वनस्पतिको कारोबार हुने गर्छ।
भारत : सन् २०१९ को २०औँ पशुधन गणनाअनुसार भारतमा करिब ५८ हजार याक रहेकामा हाल याक फेडेरेसन अफ इन्डियाका ५२६ सदस्य घरधुरीसँग करिब ३२ हजार याक रहेको तथ्याङ्क छ।
भुटान : भुटानको राष्ट्रिय तथ्याङ्क ब्युरो (सन् २०२४) अनुसार त्यहाँका ७४६ घरधुरीले २९ हजार ४३२ याक पालेका छन्, जसले राष्ट्रिय पशुजन्य उत्पादनमा चार प्रतिशत योगदान पुर्याउँछ।
भूउपयोगको बदलिँदो स्वरूप, चरन क्षेत्रको अभाव र जलवायुजन्य असरका कारण तीनवटै देशमा याकको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेकाले यस सञ्जालमार्फत एकीकृत संरक्षण र दिगो व्यवस्थापनको पहल थालिएको हो।
