भिक्टोरियाज सिक्रेट फेसन शोमा काइली जेनरको डेब्यु: ५ अर्बको ‘फ्यान्टासी ब्रा’ ले तान्यो ध्यान
लस एन्जलस । अमेरिकी रियालिटी टिभी स्टार काइली जेनरले प्रसिद्ध ‘भिक्टोरियाज सिक्रेट फेसन शो’ को मञ्चमा भव्य डेब्यु गरेकी छन्। लस एन्जलसमा आइतबार राति आयोजित वार्षिक फेसन शोमा जेनरले ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी) मूल्य पर्ने हिराजडित ‘फ्यान्टासी ब्रा’ पहिरिएर उपस्थित दर्शक तथा फेसन जगत्लाई चकित पारिन्।
‘ल्याक्जरी ज्वेलर’ ज्याकोब एन्ड को ले तयार पारेको उक्त बहुमूल्य पहिरनमा ५ देखि १८ क्यारेटका ९१ वटा ठूला सेता हिराहरू जडान गरिएका छन् भने मध्यभागमा ७५ क्यारेटभन्दा ठूलो पहेँलो हिरा राखिएको छ। सन् १९९६ देखि सुरु भएको ‘फ्यान्टासी ब्रा’ को इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा महँगो पहिरन बनेको छ।
हलिउड स्टारहरूको उपस्थिति र साङ्गीतिक माहोल
उक्त भव्य फेसन शो नियाल्न हलिउड स्टारहरू टिमोथी चालामेट, निकोल किडम्यान, क्रिस जेनर र डिएलन स्प्राउस लगायतका चर्चित हस्तीहरू पुगेका थिए।
शोको सुरुआत मोडल बेला हदिदले आकर्षक ‘फ्लोरल विङ्स’ (पङ्खा) का साथ गरिन्। मञ्चमा पुराना ‘एन्जेल’ एड्रियाना लिमा (जसको यो २१ औँ शो थियो), क्यान्डिस स्वानपोलका साथै नयाँ पुस्ताका मोडलहरू एलेक्स कोन्सानी र पालोमा एल्सेसरले क्याटवाक गरेका थिए। कार्यक्रममा ग्लोबल गर्ल ग्रुप ‘क्याटसी’ , र्यापर ‘मिगन दी स्ट्यालियन’ र पप गायिका ‘टेड म्याक्रे’ ले प्रत्यक्ष साङ्गीतिक प्रस्तुति दिएका थिए।
‘एन्जेल अमङ अस’ की विजेता सोलाञ्ज ओमनको डेब्यु
ब्रान्डका नयाँ चीफ क्रिएटिभ अफिसर एडम सेलम्यानको नेतृत्वमा सञ्चालित युट्युब रियालिटी शो ‘एन्जेल अमङ अस’ की विजेता सोलाञ्ज ओमनले पनि यसै शोमार्फत क्याटवाक डेब्यु गरिन्। अमेरिकाभरका हजारौँ प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै उनी भिक्टोरियाज सिक्रेटको नयाँ मोडलका रूपमा छनोट भएकी हुन्।
ब्रान्डको पुनरागमन र व्यावसायिक सफलता
विगतमा विवाद र आर्थिक घाटा व्यहोरेको भिक्टोरियाज सिक्रेटले पछिल्लो समय समावेशिता र आधुनिकतालाई अङ्गीकार गर्दै पुनरागमन गरेको छ। सन् २०२६ को सुरुआतमा ब्रान्डकी सीईओ हिलारी सुपरले समावेशितालाई प्राथमिकतामा राखेको बताएकी थिइन्।
ग्ल्यामर, फेसन र आधुनिकताको सन्तुलन मिलाउन सफल भएपछि शेयर बजारमा समेत कम्पनीको शेयर मूल्य दोब्बरले वृद्धि भएको छ।

