एनपिएलः पोखरालाई हराउँदै सुदूरपश्चिमको पहिलो जित

काठमाडौँ, ११ कात्तिक। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ।

पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो। यसअघि सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो।

सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रनको योगदान दिए। उनले ३६ बलमा चार चौका र दुई छक्का प्रहार गरे। त्यस्तै, इशान पाण्डेले ३१ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३७ रन बनाए।

ब्रान्डन म्याकमुलेनले १२ बलमा २२ रन जोड्दा सैफ जैबले १५ रन बनाए। सर्फेन रदरफोर्ड आठ रनमा अविजित रहे।

पोखराका धनञ्जय लक्षण, महेदी हसन र शाकिब अल हसनले समान एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रन बनाएको थियो।

पोखराका लागि अर्जुन घर्तीले सर्वाधिक ४० रन बनाए। उनले २५ बलमा चार चौका र एक छक्कासहित अविजित इनिङ्स खेले। महेदी हसनले २१ बलमा ३२ रन तथा कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रन जोडे।

त्यस्तै, शाकिब अल हसनले १६ बलमा १४ र धनञ्जय लक्षणले १६ बलमा ११ रन बनाए। सदीरा समरविक्रमा आठ रनमा आउट भए।

सुदूरपश्चिमका बलर अनिल खरेलले तीन विकेट लिए। उनले तीन ओभरमा २३ रन खर्चिए। स्कट कुगेलाइन, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान एक विकेट हात पारे।

यस जितसँगै सुदूरपश्चिमले एनपिएलमा आफ्नो जितको खाता खोलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *