फ्रान्सको महँगीविरोधी आन्दोलन जर्मनीसम्म फैलियो, लाखौँ सडकमा

जर्मनीमा ‘जेन जी रेगेल्ट’ नामक युवा आन्दोलनको आह्वानमा बर्लिन, फ्र्याङ्कफर्ट, कोलोन र म्युनिखलगायतका सहरमा प्रदर्शन भएका हुन्। हलोविनको दिन पारेर आयोजना गरिएको प्रदर्शनमा युवाले आफ्नो भविष्यसँग सम्बन्धित निर्णयमा सहभागिता, शिक्षामा पर्याप्त बजेट, महँगी नियन्त्रण र वातावरण संरक्षणको माग गरेका छन्।

पेरिस/बर्लिन, १५ कात्तिक।  फ्रान्समा सुरु भएको महँगी, कमजोर सार्वजनिक सेवा र आर्थिक असमानताविरुद्धको आन्दोलन जर्मनीसम्म फैलिएको छ। शनिबार फ्रान्समा तेस्रो चरणको देशव्यापी प्रदर्शन हुँदा जर्मनीका प्रमुख सहरमा पनि हजारौँ युवा सडकमा उत्रिएका छन्।

बढ्दो जीवनयापन खर्च, शिक्षा क्षेत्रमा अपर्याप्त लगानी र सम्भावित अनिवार्य सैन्य सेवाको विरोधमा जर्मनीमा प्रदर्शन भएको हो। फ्रान्समा भने विद्यालय तथा विश्वविद्यालयको अवस्था सुधार, महँगी नियन्त्रण र सामाजिक आर्थिक असन्तोषलाई सम्बोधन गर्नुपर्ने मागसहित प्रदर्शन गरिएको छ।

सीएनएनका अनुसार फ्रान्सको गृह मन्त्रालयले शनिबार देशभर करिब तीन लाख २० हजार प्रदर्शनकारी सहभागी भएको जनाएको छ। राजधानी पेरिसमा मात्रै ७० हजार मानिस सडकमा उत्रिएका थिए। जर्मनीमा प्रदर्शनका आयोजकले देशभर एक लाख २० हजार सहभागी भएको दाबी गरेका छन्।

जर्मनीमा युवाको प्रदर्शन, केही सहरमा हिंसात्मक घटना

जर्मनीमा ‘जेन जी रेगेल्ट’ नामक युवा आन्दोलनको आह्वानमा बर्लिन, फ्र्याङ्कफर्ट, कोलोन र म्युनिखलगायतका सहरमा प्रदर्शन भएका हुन्। हलोविनको दिन पारेर आयोजना गरिएको प्रदर्शनमा युवाले आफ्नो भविष्यसँग सम्बन्धित निर्णयमा सहभागिता, शिक्षामा पर्याप्त बजेट, महँगी नियन्त्रण र वातावरण संरक्षणको माग गरेका छन्।

जर्मनीमा सरकारले स्वैच्छिक सैन्य भर्ती विस्तार गर्ने कानुन पारित गरेपछि सम्भावित अनिवार्य सैनिक सेवाप्रति युवाको असन्तुष्टि थपिएको छ। नयाँ व्यवस्थाले तत्काल अनिवार्य भर्ती लागू नगरे पनि आवश्यक जनशक्ति नपुगेमा संसद्को निर्णयबाट अनिवार्य भर्तीको बाटो खुला राखेको छ।

“हाम्रो भविष्यबारे हामीबिनै निर्णय भइरहँदा अब चुप लागेर बस्न नचाहने युवा हामी हौँ,” आन्दोलनका आयोजकले आफ्नो वेबसाइटमा उल्लेख गरेका छन्।

बर्लिनमा प्रदर्शन शान्तिपूर्ण रहे पनि कोलोन र ह्याम्बर्गमा प्रहरीले पानीको फोहोरा तथा दंगा नियन्त्रण टोली परिचालन गरेको थियो। कोलोनमा केही प्रदर्शनकारीले पटाका पड्काएपछि प्रहरीले हस्तक्षेप गरेको जनाएको छ।

ह्याम्बर्गमा अवरोधकमा आगजनी तथा आपत्कालीन सेवाका कर्मचारीमाथि आक्रमण भएपछि प्रहरीले कारबाही गरेको थियो। फ्र्याङ्कफर्टमा आपत्कालीन सेवाका कर्मचारीतर्फ पेट्रोल बम प्रहार र पसलका सिसा फुटाइएपछि व्यापारिक सडकको केही भाग बन्द गरिएको थियो। हतियार पसलमा तोडफोड भएको घटनामा एक जना पक्राउ परेका छन् भने प्रहरीले दुईवटा हतियार बरामद गरेको जनाएको छ।

फ्रान्समा प्रदर्शनकारीको संख्या घट्यो, सुरक्षा व्यवस्था कडा

फ्रान्समा शनिबारको प्रदर्शन अक्टोबर १७ र २४ पछिको तेस्रो देशव्यापी आन्दोलन हो। गृह मन्त्रालयका अनुसार अक्टोबर १७ मा देशभर करिब पाँच लाख ५० हजार र अक्टोबर २४ मा चार लाख १० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। अक्टोबर २४ मा पेरिसमा मात्रै करिब एक लाख १० हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए।

यसपटक भने देशभर सहभागीको संख्या घटेर तीन लाख २० हजार पुगेको छ। गृह मन्त्रालयले स्थानीय समयअनुसार साँझ ६ बजेसम्म २९६ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ।

फ्रान्सका गृहमन्त्री लोरा नुनेजले सार्वजनिक शान्ति भंग हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै नगर केन्द्रबाहिर मात्र प्रदर्शन गर्न अनुमति दिइने बताएकी थिइन्। प्रदर्शन नियन्त्रणका लागि देशभर ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो।

अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे पनि बोर्डो, टुलुज, रेन, लिल, नान्त, मार्से र लियोँमा केही समूहले नगर केन्द्र प्रवेश गरी तोडफोड तथा लुटपाटको प्रयास गरेको गृह मन्त्रालयले जनाएको छ। प्रहरीले ती गतिविधि नियन्त्रणमा लिएको मन्त्रालयको दाबी छ।

उत्तरपश्चिमी फ्रान्सको रेन सहरमा निर्धारित मार्गमा मुख्य जुलुस शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि केही सय व्यक्तिले प्रहरीमाथि वस्तु प्रहार गर्नुका साथै आगजनी गरेको स्थानीय प्रहरीले जनाएको छ।

विद्यालय सुधारको मागबाट व्यापक सामाजिक असन्तोष

फ्रान्समा पछिल्लो आन्दोलन सेप्टेम्बरको अन्त्यतिर विद्यालयको जीर्ण अवस्था, शिक्षक अभाव, शैक्षिक स्रोतसाधनको कमी र विश्वविद्यालय भर्ना प्रणालीमा सुधारको माग गर्दै माध्यमिक तहका विद्यार्थीले सुरु गरेका थिए।

पछि बढ्दो जीवनयापन खर्चबाट प्रभावित समूह, मजदुर संगठन र ‘येलो भेस्ट’ आन्दोलनका समर्थकसमेत सहभागी भएपछि आन्दोलनको स्वरूप व्यापक बनेको हो। सीएनएनका अनुसार विद्यालय सुधारको मागबाट सुरु भएको प्रदर्शन अहिले विभिन्न सामाजिक तथा आर्थिक असन्तोष अभिव्यक्त गर्ने साझा मञ्च बनेको छ।

अक्टोबर १७ को प्रदर्शनमा लुटपाट, आगजनी र तोडफोडका घटना भएपछि फ्रान्सेली सरकारमाथि सुरक्षा चुनौती थपिएको थियो। त्यस दिन लिमोज सहरको ऐतिहासिक नगर भवनमा आगजनी भएको थियो भने विभिन्न सहरमा पसल तोडफोड भएका थिए। प्रदर्शनका क्रममा केही विद्यार्थी गम्भीर घाइतेसमेत भएका थिए।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरी दुवैले भोगेको हिंसालाई ‘सामूहिक असफलता’को संज्ञा दिएका छन्। विद्यार्थीले आफ्ना माग राख्दा यस्ता गम्भीर परिणाम भोग्नुपर्ने अपेक्षा नगरेको र प्रहरी पनि हिंसात्मक परिस्थितिको सामना गर्न सेवामा प्रवेश नगरेको उनको भनाइ छ।

नोभेम्बर ५ मा देशव्यापी हडतालको आह्वान

यसैबीच, बढ्दो जीवनयापन खर्च र आर्थिक असमानताविरुद्ध संयुक्त ट्रेड युनियन मोर्चाले नोभेम्बर ५ मा देशव्यापी हडताल तथा प्रदर्शनको आह्वान गरेको छ।

विद्यार्थी आन्दोलनमा मजदुर संगठन र ‘येलो भेस्ट’ आन्दोलनका समर्थकसमेत जोडिएकाले आगामी प्रदर्शनले फ्रान्स सरकारमाथि थप राजनीतिक तथा सामाजिक दबाब सिर्जना गर्ने अनुमान गरिएको छ।

फ्रान्स र जर्मनीमा फैलिएको पछिल्लो आन्दोलनले युरोपका युवामा बढ्दो आर्थिक असुरक्षा, सार्वजनिक सेवाप्रतिको असन्तुष्टि र भविष्यप्रतिको चिन्ता सडक प्रदर्शनमार्फत अभिव्यक्त भइरहेको संकेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *