साढे तीन महिनामै कोरलानाकाबाट ११ अर्ब ४५ करोड राजस्व, लक्ष्यभन्दा २ अर्ब बढी

मुस्ताङ, १५ कात्तिक । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामै वार्षिक राजस्व लक्ष्य पार गरेको छ। कार्यालयले चालु आव २०८३/८४ मा रु नौ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा कात्तिक १३ गतेसम्म रु ११ अर्ब ४५ करोड ४७ लाख राजस्व सङ्कलन गरेको हो।

यससँगै कार्यालयले निर्धारित लक्ष्यभन्दा रु दुई अर्ब ४५ करोड ४७ लाख बढी राजस्व सङ्कलन गर्न सफल भएको छ।

भन्सार अधिकृत अमिन्द्र सिंहका अनुसार चालु आवको साउनदेखि कात्तिक १३ गतेसम्म कोरलानाकाबाट रु २६ अर्ब एक करोड २३ लाख मूल्यबराबरका मालवस्तु आयात भएका छन्। सोही अवधिमा नेपालबाट रु २८ करोड ६३ लाख मूल्यबराबरका वस्तु चीनतर्फ निर्यात भएका छन्।

यस अवधिमा चीनबाट आयात गरिएका विभिन्न कम्पनीका छ हजार ५०१ वटा विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन्। गत आर्थिक वर्षमा मुस्ताङ भन्सार कार्यालयले रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो।

दसैँअघि अर्थात् असोज २७ गतेसम्म कार्यालयले रु आठ अर्ब ३२ करोड ८३ लाख राजस्व सङ्कलन गरेको थियो। दसैँपछि थप रु तीन अर्ब १२ करोड ६४ लाख राजस्व सङ्कलन भएको भन्सार अधिकृत सिंहले जानकारी दिनुभयो।

दसैँअघि कोरलानाकाबाट रु १० अर्ब ४० करोड ६९ लाख मूल्यबराबरका चिनियाँ मालवस्तु नेपाल भित्रिएका थिए। दसैँपछि थप रु छ अर्ब ७० करोड ५४ लाख मूल्यबराबरका मालवस्तु आयात भएको भन्सार कार्यालयले जनाएको छ।

त्यस्तै, साउनदेखि असोज २७ गतेसम्म कोरलानाकाबाट तीन हजार ९२६ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए। दसैँपछिको १५ दिनमा थप दुई हजार ५७५ वटा ईभीको भन्सार जाँचपास भएको सिंहले बताउनुभयो।

भन्सार अधिकृत सिंहका अनुसार रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द हुँदा कोरलानाकाबाट हुने आयात तथा निर्यात कारोबार बढेको हो। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि व्यापारिक मार्ग परिवर्तन हुँदा सयौँ कन्टेनरका मालवस्तु कोरलानाका हुँदै नेपाल भित्रिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *