जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, पसलमा लुटपाटदेखि प्रहरीसँग झडपसम्म
फ्र्याङ्कफर्ट, जर्मनी । जर्मनीमा बढ्दो महँगी, सरकारी खर्च कटौती र सैन्य सेवासम्बन्धी नीतिको विरोधमा आयोजित प्रदर्शन हिंसात्मक बनेको छ। शनिबार राति देशका प्रमुख सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा व्यापक तोडफोड तथा लुटपाट भएको छ। घटनामा दर्जनौँ प्रदर्शनकारी पक्राउ परेका छन् भने प्रहरी अधिकारीहरू घाइते भएका छन्।
जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, ह्याम्बर्ग र कोलोनमा प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि भएका हुन्। प्रदर्शनकारीले प्रहरी तथा आपत्कालीन उद्धारकर्मीमाथि पटका, ढुङ्गा र बोतल प्रहार गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन पानीको फोहरा (वाटर क्यानन) र अश्रुग्यास प्रयोग गरेको थियो।
युवा समूह ‘जेन जी रेगेल्ट’ (Gen Z regelt) को आह्वानमा सुरु भएको प्रदर्शन प्रारम्भमा शान्तिपूर्ण रहे पनि साँझ पर्दै जाँदा हिंसात्मक बनेको थियो। फ्र्याङ्कफर्टमा प्रदर्शनकारीले पसलका सिसा फुटाएर जुत्ता तथा अन्य सामग्री लुटपाट गरेका छन्।
प्रहरीका अनुसार एक हतियार पसलको सिसा फुटाएर हतियार चोरी गर्ने प्रयाससमेत भएको थियो। घटनामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको छ भने दुईवटा हतियार बरामद गरिएको छ।
हेस्से राज्यका गृहमन्त्री रोमान पोसेकले प्रदर्शनमा करिब १०० जना उग्र वामपन्थी चरमपन्थी घुसपैठ गरी हिंसा भड्काएको आरोप लगाएका छन्।
विभिन्न सहरमा तनावपूर्ण स्थिति
बर्लिन: प्रदर्शनका क्रममा २७ जना प्रहरी अधिकारी घाइते भएका छन् भने ५६ जनालाई पक्राउ गरिएको छ।
ह्याम्बर्ग: कालो पोसाकमा आएका प्रदर्शनकारीको समूहले सडकमा आगो बालेर अवरोध सिर्जना गरेपछि करिब १२० जनालाई नियन्त्रणमा लिइएको छ।
कोलोन: मुख्य रेल स्टेसननजिक प्रदर्शनकारीले प्रहरीमाथि बोतल र साइकल प्रहार गरेका छन्।
युरोपभर फैलिँदै युवा असन्तोष
जर्मनीमा भएको प्रदर्शन युरोपका विभिन्न देशमा बढ्दो युवा असन्तोषको पछिल्लो घटनाका रूपमा देखिएको छ। महँगी, आवास संकट, सार्वजनिक सेवामा कटौती र कमजोर आर्थिक अवस्थाविरुद्ध युवाहरूको आन्दोलन विभिन्न देशमा फैलिँदै गएको छ।
शनिबार फ्रान्समा पनि ३ लाख २० हजारभन्दा बढी मानिसले महँगी र सार्वजनिक सेवामा कटौतीविरुद्ध प्रदर्शन गरेका थिए। त्यहाँ प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ५०० भन्दा बढी पक्राउ परेका थिए।
इटाली, पोर्चुगल, स्पेन र ग्रिसलगायतका देशमा समेत आवासको समस्या, शिक्षाको गुणस्तर र बढ्दो जीवनयापन खर्चविरुद्ध युवाहरू सडकमा उत्रिएका छन्।
युरोपका विभिन्न देशमा लगातार भइरहेका प्रदर्शनले आर्थिक संकट, सामाजिक असमानता र सरकारी नीतिप्रति युवापुस्ताको असन्तुष्टि थप चर्किंदै गएको संकेत गरेको छ।
