नेप्सेमा ३२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं, १६ कात्तिक । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा झरेको छ । गत शुक्रबारको गिरावटलाई बजारले निरन्तरता दिएको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स ५.९३, फ्लोट इन्डेक्स २.३४ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९८ अंकले घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।
सोमबार ३४३ कम्पनीका १ करोड ९८ लाख कित्ता शेयर ७ अर्ब १८ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । गत शुक्रबार ८ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको थियो ।
यस दिन बेनी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १३.५८ प्रतिशत बढेको छ । मकर जितुमाया सुरी हाइड्रोपावरको मूल्य ८ प्रतिशतभन्दा बढी र मन्दाकिनी हाइड्रोपावरको ५.५ प्रतिशत बढेको छ । सानिमा लार्ज क्याप फण्डको इकाई मूल्य भने करिब ५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार हुँदा ग्लोबल आइएमई बैंक र कुमारी बैंकको क्रमशः करिब २९ करोड ५० लाख र २८ करोड रुपैयाँको कारोबार भएको छ ।
यस दिन सबै १३ उपसमूहका परिसूचक घटेका छन् । विकास बैंक उपसमूह सर्वाधिक १.८८ प्रतिशतले घट्दा बैंकिङ, वित्त, जलविद्युत्, लगानी, बीमा तथा लघुवित्तलगायतका उपसमूहमा पनि गिरावट आएको छ ।
