चितवनलाई हराउँदै सुदूरपश्चिमको दोस्रो जित
काठमाडौँ, १६ कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । यसअघि सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो ।
सुदूरपश्चिमका लागि ब्रेन्डन म्याकमुलेनले २१ बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ४३ रन बनाए । शेरफन रदरफर्डले अविजित २१, ईशान पाण्डेले २१, आरिफ शेखले अविजित २० र विनोद भण्डारीले ११ रन जोडे ।
चितवनका रञ्जित कुमारले तीन विकेट लिए भने मौसम ढकाल र रिजन ढकालले एक–एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२९ रन बनाएको थियो । उसका लागि रवि बोपाराले ४० बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ४९ रन बनाए । डेविड मलानले १६, विवेककुमार यादवले १७ तथा कप्तान सिकन्दर राजा र अर्जुन साउदले समान १५ रन जोडे ।
सुदूरपश्चिमका स्कट कुग्लाइनले दुई विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले एक–एक विकेट लिए ।
आजै भएको पहिलो खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो ।
