एमालेले शसस्त्र संघर्ष भनेको होइन, प्रतिवाद गर्ने ठाउँमा पुगियो भने देखिने, सुनिने गरी गर्छौः निरज आचार्य (भिडियो अन्तर्वार्ता)

 

काठमाडौं, १८ कात्तिक । नेकपा (एमाले)का प्रचार तथा प्रकाशन विभाव प्रमुख निरज आचार्यले मैत्रिन्युजसँग कुराकानी गर्दै मुलुकको लोकतन्त्र खतरातर्फ उन्मुख भएको बताउनु भएको छ । उहाँले वर्तमान सरकार जनताको चासो, मुद्धा र सरोकारका विषयमा वेखवर भएको, मुल्यवृद्धि आकासिएको, दैनिक उपभोग्य बस्तुको मूल्य डरलाग्दो गरि बढिरहेको भन्दै एमालेको केन्द्रीय कमिटी बैठकले त्यसको खवरदारी गर्दै जनता जगाउने अभियानमा जुटेको बताउनु भएको छ ।

‘कमिशनखोर, तस्कर, दलालहरुको ठूलो विगविगी बढेको छ । राज्यलाई सम्पूर्ण हिसावले नियन्त्रित र केन्द्रिकृत गरिएको छ । संविधानमाथि प्रश्न उठेका छन् । भैरहेको संसद प्रभावकारी बनेको छैन । सरकार संसद फेस गर्दैन । तर, अध्यादेशमार्फत शासन गर्ने धृष्टता सरकारले गरिरहेको छ । सरकार अधिनायकवादी र स्वच्छाचारी बन्दै गएको छ,’ उहाँले भन्नुभयो, ‘यस्ले विस्तारै मुलुकलाई फाँसीवादतर्फ अघि बढाउने खतरा हामीले देखिरहेका छौँ । त्यसैले लोकतन्त्रको रक्षा, संविधानको रक्षा, मुलुकको सार्वभौमिकताको रक्षा, मुलुकको भौगोलिक अखण्डताको रक्षाका लागि पनि हामी संघर्षमा उत्रिनुपर्छ भनेर केन्द्रीय कमिटीले यो संघर्षको नीति अपनाएको छ ।’

उहाँले त्यसका लागि कार्यकर्तालाई जनतालाई तयार पार्नुपर्छ भनेर निर्णय गरेको पनि उल्लेख गर्नुभयो । ‘एमालेले राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्दै छ । त्यो भेलाले पनि केन्द्रीय कमिटीका निर्णयका आधारमा अघि बढ्ने छ भने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने विषयमा गहन छलफल गर्ने छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचनमा एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्न सम्पूर्ण ध्यान लगाउने रणनीति पनि बैठकले बनाउने छ ।’

उहाँले नेकपा (एमाले) अनौठो पार्टी भएको भन्दै अरु पार्टी जस्तो घटनाक्रमले बनेको पार्टी नभएको उल्लेख गर्नुभयो । ‘उदेश्यसहित निर्माण भएको पार्टी हो । आफ्नो पार्टी जीवनका करीब ७८ वसन्त पार गरेको छ । धेरै उतारचढाव पार गरेर यहाँसम्म आएको छ । यस्ले राणा शासन, पञ्चायत ढाल्ने काममा निर्णायक भूमिका खेलको छ । मुलुकमा संघीय लोकतानिन्त्रक गणतन्त्र ल्याउन निर्णायक भूमिका खेलको छ । त्यसैले यो उतारचढाव कुनै अनौठो होइन,’ उहाँले भन्नुभयो, ‘यो भावनाले बनेको पार्टी हो । यस्का नेता–कार्यकर्ता यस्को भावनामा चोट लाग्यो भने दुःखी हुन्छ, जब दिलदेखि नै लाग्छ नि ? त्यो बेला जनताका बिचमा पुगेर ढकमक्क फुल्छ । जनताको मन जितेर आएको यो पार्टीले फेरि पनि जनताको मन जित्छ ।’

उहाँले आन्दोलनका विभिन्न रुपहरु हुन्छन् भन्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको विकल्प छैन भन्नुको अर्थ शान्तिपूर्ण आन्दोलन भएको उल्लेख गर्नुभयो । ‘उहाँले शसस्त्र संघर्षको कुरा गरेको होइन । हतियारसहितको आन्दोलनको कुरा गरेको पनि होइन । हतियारसहित जंगल पस्ने भनेको पनि होइन । राजधानी नै कब्जा गर्ने भनेको पनि होइन । भदौ २३–२४ को जस्तो आगो लगाउने भनेको पनि होइन । आन्दोलनका रुप हुन्छन् । नेकपा (एमाले)ले आफ्नो इतिहासमा अवलम्बन गरेको र सफल भएको रुप भनेको शान्तिपूर्ण आन्दोलन हो,’ उहाँले भन्नुभयो, ‘जनताको अधिकारको रक्षाका लागि शान्तिपूर्ण आन्दोलनका पनि रुप हुन्छन् । जे हामीले गरिरहेका छौँ । ती पनि आन्दोलनका रुप हुन् । गाउँ–टोलमा गएर जनता जगाउने कुरा आन्दोलनका रुप हुन् । परिस्थितिले शसक्त्त ढंगले प्रतिवाद गर्नुपर्ने ठाउँमा पुर्यायो भने हामी देखिने, सुनिने गरेर हामी प्रतिवाद गर्छौ । हामी भौतिक र राजनीतिक ढंगले पनि प्रतिवाद गर्छौ । अहिलेचाँहि हामीले गरेको र अध्यक्षज्युले भनेको राजनीतिक र बैचारिक ढंगले प्रतिवाद गरौँ भनेको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *