युवा,नवयुवामा देखिएको भाषिक आन्दाेलनको उर्जाले याे उमेरमा खुशी मिल्छ: मल्ल के सुन्दर, नेपाल भाषा आन्दाेलनका अगुवा

नेपाल भाषा आन्दोलनका अगुवा अनि नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा स्थापित गराउन अतुलनीय योगदान गर्नुभएका मल्ल के सुन्दर अहिले ८० को वयमा हुनुहुन्छ । तर, अहिले पनि भाषा, संस्कृति, सम्पदाका क्षेत्रमा लेखन, अध्ययन, अनुसन्धानको हुटहुटी उहाँमा कमी छैन । काठमाडौँकै माटोमा जन्मिएर यहिँको माटोमा हुर्किनु भएका उहाँको बाल्यकाल अरू सामान्य सहरी बालबालिकाको जसरी नै वितेको थियो । टोलकै विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गर्नुभएका उहाँ त्यतिबेला नाङ्गो खुट्टाले हिँड्नुहुन्थ्यो, साइकलका पाङ्ग्रा दौडाएर साथीहरुसँग खेल्नुहुन्थ्यो । अहिले ढल बग्ने बागमती, विष्णुमती, टुकुचामा कलकल पानी बग्थ्यो । काठमाडौँ त्यो बेलामा कंक्रिट थिएन ।

कताकता सानासाना झुप्राझुपरी घरहरू थिए । त्यतिबेला उहाँहरु विद्यालय छुट्टी भइसकेपछि गर्मी याममा पौडी खेल्न बागमती विष्णुमतीमा पुग्नुहुन्थ्यो । त्यतिबेला ती नदीहरुमा सिद्रा, असला माछाहरू पाइन्थे । आफ्नै लुगाले जाल थापेर उहाँहरुले माछा पार्नुहुन्थ्यो । घरमा सानो सिसीमा ती माछा पालेको उहाँलाई अहिले पनि याद छ । बाङ्गेमुढाबाट खेलखेल्दै चारपाँच जना केटाहरू लैनचौरसम्म पुगेको पनि अहिले उहाँलाई याद छ । ‘त्यो बेला अहिले जस्तो अवरोध हुँदैनथ्यो,’ उहाँले ती दिनको संझना गर्दै भन्नुभयो, ‘कतै कतै साइकल हुन्थे । तर, मोटर हुँदैनथे । ठाउँ खुला हुन्थ्यौँ, हामी सुरक्षित रूपमा खेलेर त्यहाँसम्म पुग्न सक्थ्यौँ। अनि लैनचौर पुगेएपछि लैनचौरमा त्यो बेला अहिलेको खानी विभागको छेउमा पोखरी थियो। त्यो पोखरीमा हामी पौडी खेल्थ्यौँ अनि पौडी खेलेर फर्किन्थ्यौँ। कहिलेकाहीँ खेल्दा खेल्दै हामी टुँडिखेल पुग्थ्यौँ, धरहरा पुग्थ्यौँ। नारायण हिटीको पोखरीमा गएर पौडी खेल्थ्यौँ ।’

एसएलसी जुद्धोदय हाइस्कुलबाटै २०२१ सालमा उत्तीर्ण गर्नुभएको थियो । सुरुमा टोलकै स्कुलमा पढ्नु भएका उहाँलाई एकै चोटी राष्ट्रिय स्तरको जुद्धोदय हाइस्कुलमा पुग्दा निकै अप्ठ्यारो भएको थियो । ‘त्यो बेला टोलको स्कुलमा पढ्ने, पढाउने माध्यम भाषा मेरो मातृभाषा नै थियो। मलाई कुनै अप्ठ्यारो थिएन। स्थानीय स्कुलबाट एकैपटक राष्ट्रिय स्तरको जुद्धोदय हाइस्कुलमा पढ्न जाँदा खस नेपाली थियो । त्यहाँ मेरो दौँतरीहरु अरू समुदायका विद्यार्थीहरू पनि थिए । मैले खस भाषाबाटै कुरा गर्नुपर्ने अवस्था भयो । म नेवार पृष्ठभूमिबाट गएको मान्छे । नेपाली व्यकरणको त्यति ज्ञान भएन । मैले चार जना कुकुर, पाँच जना झिंगा भनेछु,’ उहाँले ती दिनको स्मरण गर्दै भन्नुभयो, ‘व्याकरण नमिलाई कुकुर र झिँगालाई जना भन्दा साथीहरू खित्का छोडेर मलाई गिल्ला गर्दै हाँस्न थाले। सुरुमा त उनीहरु मेरो कुरामा रमाएर हाँसे भन्ने लाग्यो । पछि थाहा भयो । उनीहरुले मलाई जिस्क्याएर मजाकमा उडाएको रहेछन् । ’

उहाँले आफु अमृत साइन्स कलेजमा पढ्दाका दिनको पनि स्मरण गर्नुभयो । ‘त्यो बेला एउटै मात्रै विद्यार्थी संगठन थियो, राष्ट्र पञ्चायत समर्थक राष्ट्रिय विद्यार्थी मण्डल । अरू विचारधाराको विद्यार्थी संगठन खोल्न पाउँदैनथ्यो। तर, पनि क्याम्पसहरूमा युनियनको चुनाव हुन्थ्यो। म अमृत साइन्स क्याम्पसमा पढ्दाखेरि युनियनमा उठेको थिएँ। युनियनको म उम्मेदवार भएर निर्वाचनमा जितेको थिएँ,’ उहाँले ती दिनको स्मरण गर्दै भन्नुभयो, ‘भारतीयहरूले सुस्तामा हस्तक्षेप गरिसकेपछि विद्यार्थी आन्दोलन चर्कियो । हामी दिनदिनै पाटन पुग्थ्यौँ, त्यहाँ मसाल जुलुस निकाल्थ्यौँ, पर्चा बाँड्थ्यौँ अनि आमसभाहरू गथ्र्यौ । तर, ती कार्यक्रमहरू सम्बन्धी समाचार बन्दैन्थ्यो। त्यही बेला मेरै टोलमा एकजना व्यक्तिले एउटा अखबार निकाल्थ्यौँ। अनि त्यो अखबारको नाम थियो समय। त्यसको सम्पादक हुनुहुन्थ्यो मानिकलाल श्रेष्ठ। अनि म चाहिँ उहाँलाई समाचार बुझाउन जान्थें। अनि उहाँले कहिलेकाहीँ चिन्या भरमा माया गरेर एक टुक्रा समाचार कहीँ कुनामा निकालिदिनुहुन्थ्यो । म फुरुङ्ग हुन्थेँ। साथीभाइहरूलाई त्यो समाचार देखाउँथे। एकपटक उहाँले भन्नुभयो – ‘सधैँ किन तिमी समाचार ल्याउँछौ ? तिमी आफैँ संवाददाता भएर काम गर् मेरो पत्रिकामा। त्यो भएपछि आफ्नो समाचार पनि लेख्न पाउँछौँ। मलाई पनि तिमी सहयोगी हुन्छौँ ।’
उहाँले त्यसो भन्दा आफु फुरुङ्ग भएको स्मरण गराउनुभयो । ‘अनि तुरुन्तै उहाँले सिंहदरबारमा सूचना विभागमा लगेर मलाई पत्रकारको परिचयपत्र बनाइदिनुभयो । त्यो बेला संवाददाता भनिन्थ्यो । म समयको संवाददाताको रूपमा काम गर्न थालेँ,’ उहाँले भन्नुभयो, ‘पत्रकारको रूपमा, संवाददाताको रूपमा मलाई आइडी कार्ड दिइयो । मेरो लागि त्यो जीवनमा सबभन्दा गर्वको अवस्था थियो। म सानो ठिटो, एकजना अल्लारे केटा अप्रत्याशित रूपमा म पत्रकारिताको पेसासँग जोडिन पुगेँ ।’

पत्रकारिता मात्रै होइन मल्लके सुन्दर भनेपछि अध्ययन, अनुसन्धान र अध्यतासँग पनि उहाँको नाम जोडिन्छ। भाषा आन्दोलनको हुटहुटी उहाँमा कसरी जाग्यो त ? यो विषयमा पनि उहाँले भेटमा फेहरिस्त बताउनुभयो । ‘जुद्धोदय हाइस्कुलमा पढ्न गइसकेपछि हामीलाई नेपाल भाषा पढाउने एकजना शिक्षक हुनुहुन्थ्यो, ईश्वरानन्द श्रेष्ठाचार्य । उहाँ स्वयम् सात सालको आन्दोलनमा आन्दोलनकारी भूमिका निर्वाह गर्नुभएको र एकदमै प्रगतिशील विचारधाराको लेखक हुनुहुन्थ्यो। उहाँले हामीलाई पढाउँदा पनि जनपक्षीय, प्रगतिशील र द्वन्द्वात्मक विचारको कुराहरूबाट प्रशिक्षित गर्नुहुन्थ्यो,’ मल्ल के सुन्दरले भन्नुभयो, ‘उहाँले नेपाल भाषा साहित्य पढाउँदा पढाउँदै बीचबीचमा हामीलाई चाहिँ प्रशिक्षित गर्नुहुन्थ्यो । हामी उहाँको प्रशिक्षणबाट प्रभावित भयौँ । उहाँले नेवारहरूप्रति, नेवार भाषाप्रति, समुदाय संस्कृतिप्रति राज्यले सदिऔँदेखि गरिरहेको विभेद, अन्यायका विरुद्धमा हामीलाई सचेत गराउनुहुन्थ्यो । म पनि विस्तारै प्रशिक्षित हुँदै गएँ ।

उहाँले भाषा आन्दोलनप्रतिको हुुटहुटीबारे २०२२ सालको घटना पनि स्मरण गराउनुभयो । ‘२०२२ सालमा रेडियो नेपालबाट दिनदिनै प्रसारण गरिने नेपाल भाषाको समाचार बुलेटिन थियो । वैशाख १ गतेबाट त्यो रोकियो। रोकिसकेपछि त्यहाँका केही अग्रजहरु प्रेमबहादुर, ईश्वरानन्द, दुर्गालाल, हितकर्मी सिंह जस्ता व्यक्तिहरूले त्यसका विरोधमा अभियान चलाउनुभयो । त्यो विरोधको कार्यक्रम एउटा साहित्यिक कार्यक्रमको रूपमा टोलटोलमा हरेक शनिबार प्रस्तुत हुन्थ्यो। साहित्यिक वाचनका कार्यक्रमहरू हुन्थे । म सुरु–सुरुमा त श्रोता, दर्शकको रूपमा थिएँ। केही समयपछि आफू पनि प्रस्तुत हुने रहर लाग्यो। त्यसपछि शब्दहरू कोर्ने प्रयासहरू गर्न थाले र अभियानमा सहभागी भए ।’ उहाँको अभियान र यात्राबारे मैत्रिन्युजले गरेको भिडियो कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *