बाढीपछि लाङटाङ र गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

रसुवा, १८ कात्तिक । भोटेकोशी बाढीपछि लामो समय सुनसान बनेका रसुवाका प्रमुख पर्यटकीय गन्तव्य लाङटाङ र धार्मिकस्थल गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्न थालेको छ। सडक तथा पदमार्गमा सुधार भएसँगै पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको हो।

गत भदौ १० गतेको बाढीले करिब दुई महिनासम्म पर्यटन गतिविधि प्रभावित बनेको थियो। लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार वेत्रावतीमा बेलिब्रिज निर्माण गरी सडक सञ्जाल पुनः जोडिएपछि पर्यटक आगमन बढ्न थालेको छ।

पर्यटन तथा होटल व्यवसायी संघ रसुवाका अध्यक्ष विशाल घलेले लाङटाङ र गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन उत्साहजनक रूपमा सुरु भएको बताउनुभयो। पदमार्ग र सडक सहज बनेपछि पर्यटक निर्धक्क भएर गन्तव्यतर्फ जान थालेका छन्।

गोसाइँकुण्ड मार्गका होटल व्यवसायी पासाङ ध्युमीले बाटो खुलेसँगै पर्यटकको चहलपहल बढ्दा व्यवसायीमा आशा पलाएको बताउनुभयो। लाङटाङ भ्रमणमा पुगेका नुवाकोटको नर्जाकी शारदा खनाल र उहाँका छोराले पनि बाटो सहज र सुरक्षित रहेको अनुभव सुनाउनुभयो।

स्थानीय होटल व्यवसायी निमा लामाले लामो समयपछि पर्यटक आउन थालेकामा खुसी व्यक्त गर्दै व्यवसाय पुनः चलायमान हुने विश्वास व्यक्त गर्नुभयो। पर्यटन व्यवसायी डिण्डुप तामाङका अनुसार हिमनदी र क्याङजेन क्षेत्रको मनोरम दृश्यले पर्यटकलाई आकर्षित गरिरहेको छ।

शरद ऋतुको पर्यटकीय याम र मौसममा सुधार आएसँगै रसुवाका पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ। पछिल्लो समय लाङटाङ र गोसाइँकुण्ड पदयात्रा युवा पुस्ताको आकर्षणको केन्द्र बन्दै गएको छ। पदमार्ग सुरक्षित बनेसँगै जिल्लाको पर्यटन उद्योगले पुनः गति लिन थालेको व्यवसायीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *