किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङमा मुन्दुमी संरचना निर्माण

खोटाङ, ११ मङ्सिर । किरात समुदायको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल साल्पा–सिलिचुङ क्षेत्रमा विभिन्न मुन्दुमी संरचना निर्माण गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सङ्गमस्थलमा अवस्थित यस क्षेत्रमा किराती मुन्दुम र मिथकलाई भौतिक रूप दिन प्रतिमा तथा धार्मिक संरचनाहरू स्थापना गरिएका हुन् ।

निर्माण गरिएका संरचनाहरूमा सुम्निमा, पारुहाङ, नाक्छुङ (धामी), नाक्छुङ चरा (कल्चुडा) का प्रतिमा, तीन चुल्हासहितको मुन्दुमी माङथाम तथा वाबु (चिण्डो) सहितको प्रवेशद्वार र स्वागतद्वार रहेका छन् ।

साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका अध्यक्ष राजेन खिम्बुले राई ‘मूलघरे कान्छा’का अनुसार स्वदेश तथा विदेशमा रहेका किराती एवं गैरकिरातीहरूबाट सङ्कलित करिब रु. दुई करोड ८४ लाखमध्ये रु. दुई करोड ६२ लाखको लागतमा यी संरचना तयार पारिएका हुन् । साउदी अरबमा रहनुभएका भोगिन्द्र चाम्लिङ राईको संयोजकत्वमा गठित आर्थिक सङ्कलन समितिमार्फत नेपालसहित बेलायत, हङ्कङ, कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान र इजरायललगायतका देशबाट रकम जुटाइएको थियो ।

अध्यक्ष राईले साल्पा–सिलिचुङलाई किरातीहरूको सृष्टि र मुन्दुमको उत्पत्ति केन्द्र मानिने भएकाले भावी पुस्तालाई अध्ययन–अनुसन्धानमा सघाउन र यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने लक्ष्यका साथ काम अघि बढाइएको बताउनुभयो ।

तीन चरणमा सम्पन्न भयो निर्माण कार्य ‘सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा–सिलिचुङ संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ २०७९ सालमा अन्तर्राष्ट्रिय समिति गठन गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर काम थालिएको थियो । तीन चरणमा विभाजित यस अभियानअन्तर्गतः

  • पहिलो चरण (२०८१ वैशाख ७): सुम्निमा, पारुहाङ र नाक्छुङको प्रतिमा स्थापना ।

  • दोस्रो चरण (२०८२ वैशाख १): साल्पापोखरीमा तीन चुल्हासहितको मुन्दुमी माङथाम तथा सुम्निमा–पारुहाङको प्रतिमा निर्माण ।

  • तेस्रो चरण (चालु वर्ष): ३५ फिट अग्लो पित्तलको जोडी वाबुक/सोलोन्वा (चिण्डो), पोखरीभित्र पारुहाङ अन्तरध्यानमा बसेको प्रतिमा र नाक्छुङ चराको प्रतिमा स्थापना ।

चार वर्षे अभियानको सम्पूर्ण आर्थिक तथा भौतिक प्रगति विवरण यही मङ्सिर १८ गते काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिने समितिले जनाएको छ ।

प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्व समुद्री सतहबाट चार हजार १५५ मिटर उचाइमा रहेको सिलिचुङ आसपासका टेम्के (३,१६५ मि.) र मैयुङ (३,३३३ मि.) मध्येकै अग्लो डाँडा हो । यहाँबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण, मेरापिकलगायतका हिमशृङ्खला, तराईका फाँट तथा किराती बस्तीहरूको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

सिलिचुङको फेदमा कचौरा आकारमा फैलिएको साल्पापोखरी (३,६७२ मि.) बिना मुहान र निकासको प्राकृतिक पोखरी हो । सन् १९५३ मा सगरमाथा आरोहणका क्रममा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले समेत यही मार्ग प्रयोग गरेका थिए । यहाँ वैशाख, भदौ, कात्तिक र फागुनको पूर्णिमा गरी वर्षमा चार पटक भव्य मेला लाग्ने गर्दछ । पोखरीमा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने, बोली नफुट्नेको बोली आउने, सन्तान प्राप्ति हुने र धामीझाँक्रीले मुन्दुमी शक्ति प्राप्त गर्ने जनविश्वास छ ।

पर्यटकीय पूर्वाधारमा वृद्धि सरकारले सूचीकृत गरेको १०० पर्यटकीय गन्तव्यमध्येको ‘मुन्दुम पदमार्ग’ साल्पा–सिलिचुङसम्म विस्तार भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । चारवटै जिल्लाका स्थानीय तहहरूले पदमार्ग निर्माणलाई तीव्रता दिएका छन् ।

विगतमा पर्यटकहरू चौँरीगोठ र भेडीचोकमा बास बस्नुपर्ने बाध्यता रहे पनि पछिल्लो समय पदमार्ग आसपास होटल तथा होमस्टे (घरबास) खुल्ने क्रम बढेको छ । घाँसेमैदान, चौँरीखर्क, भेडीचोक र घोडचढीको अनुभव लिन पाइने भएकाले यो क्षेत्र आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको स्थानीय बासिन्दा बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *