हलेसीमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण, मौलिक सामग्री सङ्कलन सुरु

खोटाङ, ११ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिकामा निर्माणाधीन बहुसांस्कृतिक सङ्ग्रहालयमा प्रदर्शन तथा संरक्षणका लागि विभिन्न जातजाति र समुदायको मौलिक पहिचान झल्काउने परम्परागत सामग्री सङ्कलन सुरु गरिएको छ।

नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न जातजाति तथा समुदायका संस्कार, संस्कृति, परम्परा, रहनसहन र ऐतिहासिक पहिचान संरक्षण तथा भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कोशी प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा सङ्ग्रहालय निर्माण गरिएको हो।

नगरपालिकाले सङ्ग्रहालयमा मौलिक भेषभूषा, गरगहना, बाजागाजा, कृषि तथा घरेलु औजार, पूजाआजामा प्रयोग हुने सामग्री, ऐतिहासिक भाँडाकुँडा र हस्तकलाका सामग्री सङ्कलन गर्ने जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले इच्छुक समुदाय, सङ्घसंस्था, गुठी, क्लब तथा व्यक्तिलाई ३५ दिनभित्र सामग्रीको विवरणसहित नगरपालिकामा उपलब्ध गराउन वा सङ्कलनका लागि जानकारी दिन आग्रह गर्नुभएको छ। सामग्री उपलब्ध गराउने व्यक्ति वा संस्थाले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बरका साथै सामग्रीको नाम, सम्बन्धित समुदाय वा जातजाति, अनुमानित पुरानो समय वा ऐतिहासिक महत्त्व र सङ्क्षिप्त परिचय उपलब्ध गराउनुपर्नेछ।

व्यक्तिगत वा सामुदायिक रूपमा सामग्री दान तथा हस्तान्तरण गर्ने वा निश्चित अवधिका लागि प्रदर्शनमा राख्न चाहनेले त्यसको स्पष्ट विवरणसमेत खुलाउनुपर्ने नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताउनुभयो।

नगरपालिकाका अनुसार सङ्ग्रहालयमा राखिने सामग्रीको उचित संरक्षण तथा अभिलेखीकरण गरिनेछ। साथै दाता र सम्बन्धित समुदायको पहिचान झल्किने विवरणसमेत सुरक्षित राखिनेछ।

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङलुङ पार्क परिसरमा बहुसांस्कृतिक सङ्ग्रहालय भवन निर्माण गरिएको हो। भवन निर्माणका लागि कोशी प्रदेश सरकार र नगरपालिकाले रु एक/एक करोड बजेट उपलब्ध गराएका थिए। प्रदेश सरकारको बजेटबाट गङ्गा–जमुना निर्माण सेवा, ताप्लेजुङले रु ९० लाख तथा नगरपालिकाको बजेटबाट सुदेवी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले रु ८० लाख ८१ हजारमा निर्माणको जिम्मा लिएका थिए।

नगरपालिकाका अनुसार प्रदेश सरकारको बजेटबाट एउटा र नगरपालिकाको बजेटबाट दुईवटा सङ्ग्रहालय भवन निर्माणको काम सम्पन्न भएको छ। आवश्यक सामग्री सङ्कलन भएपछि कार्यपालिकाको बैठकबाट उद्घाटनको मिति तय गरिनेछ।

नगरप्रमुख विमला राईले बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धनसँगै पर्यटन विकास गर्ने उद्देश्यले बुङलुङ पार्कमा सङ्ग्रहालय स्थापना गरिएको बताउनुभयो। सङ्ग्रहालय सञ्चालनमा आएपछि हलेसी क्षेत्रको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने उहाँको भनाइ छ।

ककनीडाँडामा बहुसांस्कृतिक सङ्ग्रहालयसहित बुङलुङ पार्क निर्माण भइरहेको छ। हलेसीबाट करिब ३० मिनेटको उकालो पैदल यात्रामा पुगिने ककनीडाँडालाई स्तरोन्नति गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने नगरपालिकाको योजना छ।

पार्कमा प्राकृतिक ढुङ्गालाई संरक्षण गर्दै फूल रोप्ने, ढुङ्गे प्रवेशद्वार र ढुङ्गे धारा निर्माण गर्ने तथा महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति निर्माण गर्ने काम भइरहेको छ। ढुङ्गाकै कलात्मक सिँढी, साना प्रवेशद्वार, घेराबार, पर्खाल तथा पर्यटकका लागि काठका बेन्च निर्माण भइसकेका छन्।

पार्कमा विद्युत्, खानेपानी, विश्रामस्थल, केबलकार, भोजनालय र कफीसपलगायतका संरचना निर्माण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ। सगरमाथालगायत उच्च हिमाली क्षेत्रको दृश्यावलोकन गर्न सकिने ककनीडाँडा निर्माणाधीन अवस्थामै पर्यटकको आकर्षण बन्न थालेको स्थानीयको भनाइ छ।

भस्मासुरले महादेवलाई लखेट्दा ककनीडाँडामा महादेवको पाइला परेको र त्यसपछि ढुङ्गामा कलात्मक आकृति बनेको किंवदन्ती छ। बुङलुङ पार्क हलेसी हुँदै जाने नेपाल सरकारको १०० पर्यटकीय गन्तव्यअन्तर्गतको मुन्दुम ट्रेलको प्रवेशस्थलमा समेत पर्दछ।

किराती सभ्यतासँग सम्बन्धित मुन्दुम ट्रेल हलेसीबाट सुरु भएर रूपाकोट, टेम्के, मैयुङ हुँदै साल्पा–सिलिचुङसम्म पुग्छ। हलेसी र ककनीडाँडानजिकै किरात सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजुमसमेत रहेकाले यस क्षेत्रलाई सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ।

संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको बुङलुङ पार्कमा दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। निर्माणाधीन पार्कका आकर्षक दृश्य सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि पर्यटकको आकर्षण थप बढेको स्थानीयले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *