नेप्सेमा सामान्य सुधार, कारोबार रकम घटेर साढे ३ अर्बमा सीमित
काठमाडौं, २० कात्तिक । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबार घटेको नेप्से यस दिन २.६४ अंकले बढेर २ हजार ६५५.२२ विन्दुमा पुगेको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स १.१८ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६८ अंकले उकालो लागेको छ।
नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकम भने घटेको छ। बिहीबार ४ अर्ब ७२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा शुक्रबार ३ अर्ब ४६ करोड २० लाख ५९ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
यस दिन ३३६ कम्पनीका १ करोड ७ लाख १३ हजार कित्ता सेयर ३३ हजार २१५ पटकको कारोबारमा खरिदबिक्री भएका छन्।
शुक्रबार क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक १४.०८ प्रतिशतले बढेको छ। बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर मूल्य पनि साढे ५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता, घोराही सिमेन्ट इन्डस्ट्रीको सेयर मूल्य सर्वाधिक ४.४३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा घोराही सिमेन्ट इन्डस्ट्री शीर्ष स्थानमा रहेको छ। कम्पनीको २१ करोड ६३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको साढे १२ करोड रुपैयाँभन्दा बढी र रिलायन्स स्पिनिङ मिल्सको करिब १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटाको परिसूचक बढेको छ भने एउटाको घटेको छ। अन्य उपसमूहबाहेक सबै उपसमूहको परिसूचक सामान्य बढेको हो।
