गाजामा पहिलो आँधीबेहरीसँगै ७० हजार पालमा पानी भरियो, १० लाखभन्दा बढी विस्थापित जोखिममा
काठमाडौं, २१ कार्तिक । गाजामा पहिलो हिउँदे आँधीबेहरीसँगै परेको वर्षाले करिब ७० हजार विस्थापित परिवारका पालमा पानी भरिएको छ। गाजाको सरकारी मिडिया कार्यालयका अनुसार १२ घण्टाभित्रै यति धेरै पाल डुबानमा परेका हुन्।
कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिमा प्रारम्भिक क्षति करिब ३० लाख डलर पुगेको अनुमान गरिएको छ। दर्जनौँ पर्खाल ढलेका र धेरै व्यक्ति घाइते भएको जनाइएको छ। चर्किएका भवनहरू जोखिमपूर्ण बन्दै गएकाले थप खतरा बढेको उल्लेख छ।
कार्यालयले नाकाहरू निरन्तर बन्द राखेको र आश्रय तथा पुनर्निर्माण सामग्री भित्रिन रोकिएकाले यो विपत्ति निम्तिएको भन्दै इजरायललाई “पूर्ण रूपमा जिम्मेवार” ठहर गरेको छ। साथै विस्थापितहरूको संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघका निकायलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेको छ।

उद्धार कार्यमा कठिनाइ
गाजाको नागरिक सुरक्षा (सिभिल डिफेन्स) निकायका अनुसार शनिबार बिहानैदेखि वर्षा सुरु भएको १० घण्टामा मात्रै उसका टोलीले करिब १,५०० उद्धार आह्वान प्राप्त गरेको छ। केही आश्रयस्थलमा पानीको सतह ३० देखि ४० सेन्टिमिटरसम्म बढेको छ।
“हामीले डराएको कुरा नै भयो,” निकायका प्रवक्ता महमुद बसलले अल जजिरालाई भने। “केही आश्रयकेन्द्र पूर्ण रूपमा डुबे, भित्र रहेका सबैलाई अनिश्चित गन्तव्यतर्फ निस्कन बाध्य पारियो।”
उनका अनुसार समयपूर्व जन्मेका शिशु, वृद्धवृद्धा र बिरामीहरू सबैभन्दा जोखिममा छन्। “पालमा बस्नेहरू जुनसुकै बेला मृत्यु र रोगको जोखिममा छन्,” उनले भने।
नागरिक सुरक्षा निकायका निर्देशक राएद अल–दहशानले उद्धारकर्मी पुग्दा पनि उनीहरूले गर्न सक्ने कुरा सीमित रहेको बताए। “हामीसँग एउटा तिरपाल वा पालसमेत छैन। हामी ज्यान बचाउने काम मात्र गर्छौं, तर त्यो पर्याप्त छैन,” उनले अल जजिरालाई भने।
भवन भत्किए, घाइते
इजरायलले सन् २०२३ को अक्टोबरदेखि सुरु गरेको युद्धमा क्षति पुगेका भवनहरू पनि आँधीका कारण ढलेका छन्। नागरिक सुरक्षाका अनुसार केन्द्रीय गाजाको नुसेइरात क्षेत्रमा तेज हावाहुरी र वर्षाले आंशिक रूपमा भत्किएको भवनबाट बासिन्दालाई उद्धार गरिएको छ। उत्तरी गाजामा भारी वर्षाका कारण अर्को भवनको पर्खाल ढल्दा दुई जना घाइते भएको प्यालेस्टिनी समाचार संस्था वफाले जनाएको छ।
गाजा सिटी, खान युनिस र देइर अल–बलाहका शिविरबाट प्राप्त दृश्यमा परिवारहरू गोली गाँठोसम्म पानीमा हिँडिरहेका, गादी र कम्बल भिजेका तथा नाङ्गै खुट्टा बालबालिका हिलो र ढल मिसिएको पानीमा उभिएको देखिन्छ।
“यस्तो वर्षामा घरहरूले समेत धान्न सक्दैनन्, खुला प्लास्टिकको पालले कसरी धान्ला?” गाजा सिटीको शिविरबाट रिपोर्टिङ गरिरहेकी अल जजिराकी नुर खालिदले भनिन्। हिउँदको सामना एक्लै गर्नुपरेकाहरूमध्ये २८ हजारभन्दा बढी विधवा आफ्ना बालबालिकासहित रहेको उनले बताइन्।
अल–मवासीमा जोखिम
दक्षिणी गाजाको समुद्रतटीय क्षेत्र अल–मवासीमा ९ लाखभन्दा बढी विस्थापित आश्रय लिइरहेका छन्। शुक्रबार राति १० बजे (२०:०० जीएमटी) देखि त्यहाँ वर्षा भइरहेको खान युनिसबाट रिपोर्टिङ गर्दै अल जजिराका रामी अबु तैमाले बताए।
“बिहान उठ्दा गाजाभरि सयौँ, हजारौँ पाल पानीमा डुबेको देखियो,” उनले भने। तटीय क्षेत्रमा बसोबास गर्ने १ लाख २५ हजारभन्दा बढी परिवारका पाल समुद्रले बगाउने विशेष जोखिम रहेको उनले थपे।
गाजाको आपत्कालीन समितिका अनुसार १० लाखभन्दा बढी विस्थापित कठोर जाडोको सामना गर्दैछन्। उनीहरूका लागि करिब २ लाख पाल र तापको सामग्री तत्काल आवश्यक छ।
स्वास्थ्य प्रणालीमा असर
आँधीले पहिल्यै जर्जर बनेको स्वास्थ्य प्रणालीलाई पनि असर गरेको छ। गाजा सिटीस्थित अल–शिफा मेडिकल कम्प्लेक्सका निर्देशक मोहम्मद अबु सल्मियाका अनुसार अस्पतालको आकस्मिक विभागमा पानी भरिँदा करिब चार घण्टा सेवा ठप्प भयो। पालभित्र ढलको फोहोर पानी वर्षाको पानीसँग मिसिएकाले पेट, श्वासप्रश्वास र छालासम्बन्धी संक्रमण बढ्न सक्ने उनले चेतावनी दिए।
“न्यानोपन चाहिने नवजात शिशुमध्ये दर्जनौँ, सायद सयौँको ज्यान जानेछ,” उनले भने।
गाजा सिटी बन्दरगाहबाट रिपोर्टिङ गर्दै अल जजिराका गाजी अल–अलुलले हजारौँ परिवारले समुद्रकिनारमा पाल टाँगेको र त्यहाँ तेज हावा तथा चर्को ज्वारभाटाको सामना गरिरहेको बताए। “यी पाल पहिले वर्षाले, अनि समुद्री पानीले डुबाउनेछन्,” उनले भने।
धेरै पाल विस्थापनको पहिलो वर्षमा टाँगिएका थिए र अहिले चौथो वर्षमा प्रवेश गरिसकेका छन्। मालिकहरूले तुनेर र सिलाएर टिकाएका ती पाल जीर्ण भइसकेका छन्। युद्धविरामको मानवीय प्रोटोकल अनुसार तिनलाई क्यारावानले प्रतिस्थापन गर्नुपर्थ्यो, तर इजरायलले क्यारावान गाजा भित्र्याउन दिएको छैन।
समुद्रकिनारमा रहेका एक विस्थापित पुरुषले अल जजिरालाई भने, “उनीहरूले हामीलाई समुद्रतर्फ धकेले। किन सिधै समुद्रमै फालिदिँदैनन्?”
सहायता अपुग
प्यालेस्टिनी गैरसरकारी संस्था सञ्जालका निर्देशक मोहम्मद सल्हाका अनुसार गाजामा दैनिक १८० देखि २०० ट्रक मात्र प्रवेश गरिरहेका छन्, जबकि मानवीय प्रोटोकलअन्तर्गत ६०० ट्रक भित्रिनुपर्ने सहमति छ। ती ट्रकमध्ये करिब ४० वटामा मात्र मानवीय सहायता हुन्छ।
“पाल डुबेपछि प्रतिक्रिया दिन हामी चाहँदैनौं,” सल्हाले भने। इजिप्टतर्फको सीमामा ५० हजार पाल प्रतीक्षारत रहेको पनि उनले जनाए। “विपत्ति आउनुअघि नै हामीले प्रतिक्रिया दिनुपर्छ।”
इजरायलमाथि सहायता सामग्री भित्र्याउन दिन अन्तर्राष्ट्रिय दबाब “डरपोक” रहेको उनले टिप्पणी गरे।
