एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै, दुवै टोलीलाई जित्नुपर्ने दबाब
काठमाडौं, २४ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि सुरु हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
सुदूरपश्चिमले यस सिजन ५ खेलबाट ६ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा रहेको छ। उसले ३ खेलमा जित र २ खेलमा हार व्यहोरेको छ। आजको खेल जिते सुदूरपश्चिमको प्लेअफ यात्रा थप सहज बन्नेछ।
यता, जनकपुर बोल्ट्स ५ खेलबाट ४ अंक जोड्दै पाँचौँ स्थानमा छ। उसले हालसम्म २ खेल जित्दा ३ खेलमा पराजय भोगेको छ। प्लेअफको सम्भावना बलियो बनाउन जनकपुरलाई पनि आजको खेलमा जित आवश्यक छ।
