चीनलाई ८४ रनले हराउँदै नेपालले निकाल्यो लगातार चौथो जित
काठमाडौँ, २१ कात्तिक । चीनमा जारी यू–१९ बेल्ट एन्ड रोड सिरिजमा नेपाली युवा महिला क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ। शनिबार भएको खेलमा नेपालले आयोजक चीनलाई ८४ रनले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४१ रन बनायो। नेपालका लागि टीका शाहले अविजित ४३, कप्तान सोनी पाख्रिनले ३१, सावित्री धामीले २४ र साना प्रवीनले १३ रन बनाए।
नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको चीन १३.३ ओभरमा ५७ रनमै समेटियो। चीनका युफेई सुनले सर्वाधिक २८ रन बनाइन्।
नेपालका रचना चौधरी र टीका शाहले समान तीन विकेट लिए। ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेकी टीका ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्यान्ड सहभागी छन्। आगामी वर्ष घरेलु मैदानमा आयोजना हुने आईसीसी यू–१९ महिला विश्वकपको तयारीस्वरूप नेपालले चीनमा यो शृङ्खला खेलिरहेको हो।
