यू-१९ महिला क्रिकेटको उपाधि नेपाललाई

नेपाली यू-१९ महिला क्रिकेट टोली

काठमाडौँ,  कात्तिक २२ । नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि अपराजित रहँदै जितेको छ । हङकङसँगको अन्तिम खेल वर्षाका कारण नतिजाविहीन भएपछि नेपाल प्रतियोगिताको च्याम्पियन बनेको हो ।

छ टोली सहभागी प्रतियोगितामा नेपालले खेलेका छ खेलमध्ये चारमा जित हासिल गर्‍यो भने दुई खेल वर्षाका कारण रद्द भए ।

नेपालले पहिलो खेलमा थाइल्याण्डलाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो । दोस्रो खेलमा चीनसँग प्रतिस्पर्धा गर्दा वर्षाले खेल प्रभावित भएपछि नतिजा आउन सकेन । तेस्रो खेलमा हङकङलाई ९२ रनले हराएको नेपालले चौथो खेलमा थाइल्याण्डमाथि ५२ रनको जित निकालेको थियो ।

त्यस्तै, पाँचौँ खेलमा आयोजक चीनलाई ८४ रनले पराजित गर्दै नेपालले उपाधि यात्रालाई थप मजबुत बनाएको थियो । अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गरेको नेपालले वर्षाका कारण खेल रोकिनुअघि ११ ओभरमा दुई विकेट गुमाएर ८८ रन बनाएको थियो । त्यसपछि प्रतिकूल मौसमका कारण खेल पुनः सञ्चालन हुन सकेन ।

प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्याण्ड सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *