काठमाडौंले चितवनलाई दियो १८१ रनको लक्ष्य
काठमाडौं, २३ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजले दिएको १८१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको हो।
काठमाडौंका लागि राशिद खानले अर्धशतकीय पारी खेले। उनले ३० बलमा ४ छक्का र २ चौकासहित ५२ रन बनाए। जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो।
त्यस्तै सहान अराच्चिगेले ३३, विलियम बोसिस्टोले २७ र कप्तान करण केसीले २० रन जोडे।
चितवनका लागि रिजन ढकालले सर्वाधिक ३ विकेट लिए। कप्तान सिकन्दर राज्जा र कमलसिंह ऐरीले २–२ तथा डान मोस्लीले एक विकेट हात पारे।
काठमाडौं गोर्खाज यस संस्करणमा उत्कृष्ट लयमा देखिएको छ। अंकतालिकाको दोस्रो स्थानमा रहेको काठमाडौं आजको खेल जित्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ।
यता चार खेलबाट पाँच अंक जोडेको चितवन चौथो स्थानमा छ। चितवन आफ्नो अपराजित यात्रा कायम राख्दै अंकतालिकामा सुधार गर्ने योजनामा रहेको छ।
सोमबारै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको थियो।
