महाकाली नदीमा आएको बाढीले झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय सुनसान
महेन्द्रनगर, २७ कात्तिक । महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी झोलुङ्गे पुल भत्काएपछि त्यस क्षेत्रको पर्यटन र होटल व्यवसाय प्रभावित भएको छ । पुलमा आवागमन बन्द गरिएपछि पर्यटकको चहलपहल घटेको छ भने पुल वारिपारिका होटल तथा अन्य व्यवसाय धराशायी बन्दै गएका छन् ।
गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुलको एउटा पिल्लर भत्काएको थियो । त्यसपछि स्थानीय प्रशासनले पुलको दुवैतर्फ आवागमन बन्द गरेको छ । पुलबाट आवतजावत रोकिएसँगै पर्यटकको आगमन घटेको र त्यसको प्रत्यक्ष असर स्थानीय व्यवसायमा परेको व्यवसायीको भनाइ छ ।
होटल व्यवसायी मोहनबहादुर सिंहका अनुसार दसैँ–तिहारको समयमा यस क्षेत्रमा पर्यटकको आवागमन बाक्लो हुने गरेको थियो । यही समयको आम्दानीले व्यवसायीलाई वर्षभरि धान्न सहयोग पुग्थ्यो । तर, यस वर्ष पुल बन्द भएपछि व्यवसाय प्रभावित भएको छ ।
“पुलको एउटा पिल्लर भत्किएपछि हाम्रो त मुखमै ताला लगाएजस्तो भयो । स्थानीय प्रशासनले पुलको दुवैतर्फ ताला लगाएको छ । हिँडडुल पूर्ण रूपमा बन्द हुँदा व्यापार व्यवसाय धराशायी बन्यो”, सिंहले भन्नुभयो ।
उहाँका अनुसार यसअघि पुलबाट दैनिक आवतजावत गर्ने दुईपाङ्ग्रे सवारीसाधन र दोधारा चाँदनीका स्थानीय बासिन्दा अहिले प्रभावित भएका छन् । दूरीका हिसाबले छोटो पर्ने भएकाले स्थानीयले दैनिक आवतजावतका लागि यही पुल प्रयोग गर्दै आएका थिए ।
“महाकाली नदीमा पानी घटिसक्यो । अब सरकारले पुल बनाउन थालनी गरिदिए हुन्थ्यो”, सिंहले भन्नुभयो, “पुल नबन्दासम्म वारिपारिका व्यवसायी निराश छन् । दैनिक आठदेखि १० हजार रुपैयाँसम्म कमाइ हुन्थ्यो, अहिले व्यापार ठप्प छ ।”
पुल भत्किएपछि गरिएको प्राविधिक अध्ययनले पुनर्निर्माणका लागि करिब २० करोड रुपैयाँ लागत लाग्ने र निर्माण सम्पन्न गर्न एक वर्ष समय लाग्ने अनुमान गरेको छ । यद्यपि पुनर्निर्माणको काम भने अघि बढ्न सकेको छैन ।
भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहराका अनुसार दसैँ–तिहारका बेला दैनिक दुईदेखि तीन हजार पर्यटक झोलुङ्गे पुल अवलोकनका लागि आउने गरेका थिए । हिउँदमा शैक्षिक भ्रमणका कारण पनि यस क्षेत्रमा पर्यटकको चहलपहल बढ्ने र स्थानीय व्यापार व्यवसायले गति लिने गरेको थियो ।
“चाडपर्वका बेला भरिभराउ हुने झोलुङ्गे पुल यसपटक सुनसान छ । पुल बन्द हुँदा यसको प्रभाव धेरै क्षेत्रमा परेको छ”, बोहराले भन्नुभयो ।
उहाँले पुल पुनर्निर्माणका लागि तत्काल पहल गर्नुपर्ने बताउनुभयो । पुल भत्किएपछि अवस्था बुझ्न जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरू आए पनि पुनर्निर्माणको काम अघि बढ्न नसकेको उहाँको गुनासो छ ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले पनि पुल पुनर्निर्माणको काम तत्काल अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँका अनुसार दोधारा चाँदनी झोलुङ्गे पुल स्थानीयको आवागमन सहज बनाउने माध्यम मात्र नभई कञ्चनपुरको प्रमुख पर्यटकीय आकर्षणसमेत हो । पुलको पुनर्निर्माणमा ढिलाइ हुँदा स्थानीयको आवागमनसँगै पर्यटन, होटल तथा अन्य व्यवसाय प्रभावित भइरहेका छन् ।
