टोपी निलेपछि चर्चित हिप्पो फियोनाको मृत्यु
सिनसिनाटी, ४ मङ्सिर । अमेरिकाको सिनसिनाटी चिडियाखानामा विश्वभर चर्चित हिप्पो (दरियाइ घोडा) फियोनाको नौ वर्षको उमेरमा मृत्यु भएको छ। चिडियाखानाका अनुसार दर्शकको टोपी गल्तीवश उसको वासस्थानमा खसेपछि फियोनाले उक्त टोपी निलेकी थिइन्।
टोपी निलेपछि फियोनाको आन्द्रामा अवरोध उत्पन्न भएको आशङ्का गरिएको थियो। चिडियाखानाका पशु चिकित्सक तथा हेरचाहमा संलग्न कर्मचारीले निरन्तर उपचार र विभिन्न उपाय अपनाए पनि उनलाई बचाउन नसकिएको जनाइएको छ।
सिनसिनाटी चिडियाखानाका निर्देशक डेभ जेनिकेले फियोनाको मृत्यु अप्रत्याशित भएको बताउँदै आफूहरू स्तब्ध भएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार फियोनाले अन्तिम समयसम्म संघर्ष गरेकी थिइन्।
चिडियाखानाले फियोनाको शल्यक्रिया सम्भव नभएको जनाएको छ। दुई हजार पाउन्डभन्दा बढी तौल रहेकी फियोनाको उपचारका लागि पशु चिकित्सक तथा मानव स्वास्थ्य विशेषज्ञसँग समेत परामर्श गरिएको थियो। उनको शरीरबाट टोपी निकाल्न पटक–पटक प्रयास गरिए पनि सफल हुन नसकेको चिडियाखानाले जनाएको छ।
चिडियाखानाका सञ्चार निर्देशक मिसेल कर्लीका अनुसार एक साताभन्दा बढीअघि दर्शकले वासस्थानअगाडि हावामा उडाएको बुनेको टोपी छतको पङ्खामा ठोक्किएर १२ फिट अग्लो दर्शक कक्षको झ्यालमाथिको करिब एक फिटको खाली ठाउँबाट फियोनाको वासस्थानमा खसेको थियो।
आन्द्रामा अवरोध भएको आशङ्का
फियोनाको उपचारमा परामर्श दिएकी जू मियामीकी पशु चिकित्सक तथा हिप्पो विशेषज्ञ डा. गाब्रिएला फ्लाकेले जनावरले बाह्य वस्तु निलेमा आन्द्रामा अवरोध हुन सक्ने बताइन्।
चिडियाखानाका अनुसार फियोनाको यसअघि कोलोनोस्कोपी गरिएको थियो। अल्ट्रासाउन्ड परीक्षणमा उनको आन्द्रा खुम्चिएको देखिएको थियो, जसले सानो आन्द्राबाट कुनै वस्तु अघि बढिरहेको सङ्केत गरेको थियो।
विशेषज्ञका अनुसार कुनै वस्तु आन्द्रामा अड्किएपछि त्यस वरिपरिका आन्द्राको भागमा दबाब बढ्दै जाँदा रक्तसञ्चार अवरुद्ध हुन सक्छ र तन्तु मर्न थाल्छ। यस्तो अवस्थामा अवस्था छिट्टै गम्भीर बन्न सक्ने चिकित्सकले बताएका छन्।
हिप्पोको ठूलो शरीर, तौल र बाक्लो छालाका कारण ठूलो शल्यक्रियापछि घाउ निको हुन कठिन हुने भएकाले पनि शल्यक्रिया नगर्ने निर्णय गरिएको हुन सक्ने चिकित्सक फ्लाकेले बताइन्।
समयअघि जन्मिएर बनेकी थिइन् विश्व चर्चित
फियोना सन् २०१७ मा निर्धारित समयभन्दा करिब छ हप्ता अगाडि जन्मिएकी थिइन्। जन्मिँदा उनको तौल केवल २९ पाउन्ड अर्थात् करिब १३ किलोग्राम थियो। सामान्यतया हिप्पोका बच्चाको जन्मतौल करिब १०० पाउन्ड हुने गर्छ।
अत्यन्त कमजोर भएकी फियोना सुरुमा राम्रोसँग हिँड्नसमेत सक्दिनथिन्। आमाको दूध खान लामो समय उभिन नसक्ने भएपछि सिनसिनाटी चिडियाखानाका कर्मचारीले विशेष हेरचाह सुरु गरेका थिए। पछि उनीहरूको समूहलाई ‘टिम फियोना’ नाम दिइयो।
फियोनाको स्वास्थ्यमा सुधार हुँदै गएपछि चिडियाखानाले उनको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्न थाल्यो। त्यसपछि उनको कथा विश्वभर फैलियो र ‘टिम फियोना’ नामको अभियानसमेत लोकप्रिय बन्यो।
फियोनालाई उनका प्रशंसकका चिठी पढिदिएको, नुहाउने क्रममा निदाएकोलगायतका भिडियो सामाजिक सञ्जालमा भाइरल भएका थिए। उनको लोकप्रियताका कारण सिनसिनाटी चिडियाखानाले फियोनाका तस्बिर तथा नामसहितका विभिन्न सामग्री बिक्री गर्न थालेको थियो।
फियोनालाई हेर्न अष्ट्रेलिया, जर्मनी, ब्राजिल र जापानलगायतका देशबाट समेत पर्यटक सिनसिनाटी पुगेका थिए। उनी स्थानीय समुदायका लागि समेत विशेष आकर्षण र सिनसिनाटीको पहिचान बनेकी थिइन्।
सामान्य हिप्पो कैदमा करिब ४० देखि ५० वर्षसम्म बाँच्ने भएकाले नौ वर्षको उमेरमै फियोनाको मृत्यु हुनु असामान्य रूपमा चाँडो मानिएको छ।
फियोनाको निधनमा शोक
फियोनाको मृत्युको खबरपछि सिनसिनाटी तथा अमेरिकाभर उनका प्रशंसकले दुःख व्यक्त गरेका छन्। सिनसिनाटीका मेयर आफ्ताब प्युरेभलले फियोनालाई सहरको दृढता र खुसीको प्रतीकका रूपमा स्मरण गरेका छन्।
ओहायोका गभर्नर माइक डिवाइन तथा नवनिर्वाचित गभर्नर एमी एक्टनले पनि फियोनाको निधनप्रति दुःख व्यक्त गरेका छन्। एक्टनले उनलाई सिनसिनाटीका सबैभन्दा प्रिय प्रतीकमध्ये एक भनेकी छन्।
फियोनाको सम्झनामा चिडियाखाना बाहिर उनको र उनकी आमा बिबीको मूर्तिनजिक स्थानीयवासीले गुलाबी तथा सेतो फूल र श्रद्धाञ्जली कार्ड राखेका छन्।
सिनसिनाटी चिडियाखानाका कार्यकारी अध्यक्ष थाने मेनार्डले फियोना अत्यन्त प्रिय जनावर भएको बताउँदै उनको सम्झना लामो समयसम्म रहने बताएका छन्।
फियोनाको मृत्यु दुर्घटनाका कारण भएको देखिए पनि चिडियाखाना भ्रमणका क्रममा आफ्ना सामान सुरक्षित राख्न, सुरक्षा अवरोधको सम्मान गर्न र जनावरको वासस्थानमा कुनै वस्तु नफ्याँक्न विशेषज्ञहरूले आग्रह गरेका छन्। अमेरिकन भेटेरिनरी मेडिकल एसोसिएसनकी अध्यक्ष डा. जेनिफर क्वामेनका अनुसार मानिसका लागि सामान्य र हानिरहित देखिने वस्तुले जनावरका लागि गम्भीर परिणाम निम्त्याउन सक्छ।
