जुम्लामा पहिलो चौमासिकमा ४.६७ प्रतिशत मात्रै पुँजीगत खर्च
जुम्ला, ६ मङ्सिर । जुम्लामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा पुँजीगत खर्च निराशाजनक देखिएको छ । कात्तिक मसान्तसम्म जिल्लामा विनियोजित पुँजीगत बजेटको ४.६७ प्रतिशत मात्रै खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका अनुसार चालु आवमा पुँजीगततर्फ तीन अर्ब ३३ करोड १६ लाख १९ हजार रुपैयाँ विनियोजन भएकामा पहिलो चार महिनामा करिब १५ करोड ५५ लाख रुपैयाँ खर्च भएको हो ।
जिल्लामा सबैभन्दा बढी विकास बजेट पाएका सडक डिभिजन कार्यालयले एक अर्ब ७९ करोड ५० लाख रुपैयाँमध्ये ६ करोड ४८ लाख १२ हजार अर्थात् ३.६१ प्रतिशत खर्च गरेको छ ।
त्यस्तै, सघन सहरी तथा भवन आयोजनाले एक अर्ब ३९ करोड दुई लाख पाँच हजार रुपैयाँ बजेटमध्ये ६ करोड ८४ लाख २२ हजार अर्थात् ४.९२ प्रतिशत मात्रै खर्च गरेको कोष नियन्त्रक मन्जित अछामीले जानकारी दिनुभयो ।
जिल्लाका सङ्घीय सरकार मातहतका ३६ कार्यालय र आठ स्थानीय तहका लागि पुँजीगत बजेट विनियोजन गरिएको छ ।
