सहरी समृद्धिका लागि बहुपक्षीय साझेदारीमा काम गरिरहेका छौँ : कार्यवाहक प्रमुख डंगोल
शिष्टाचार भेट
काठमाडौँ, ९ मङ्सिरः काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी समृद्धि र विकासका लागि बहुपक्षीय साझेदारीलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ । उहाँले प्रदूषण नियन्त्रण, खानेपानी, सडक सञ्जाल विस्तार तथा फोहोरमैला व्यवस्थापनजस्ता सहरी समस्याको समाधानका लागि स्थानीय सरकारका अधिकार क्षेत्रसँगै सीमापार सहकार्यलाई समेत अघि बढाइएको बताउनुभयो ।
काठमाडौँ र साउदी अरेबियाका सहरबीच सहकार्य तथा भगिनी सम्बन्ध स्थापनाबारे छलफल
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोल र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद ए मनिखरबीच आज काठमाडौँ प्लाजास्थित कार्यवाहक प्रमुखको कार्यकक्षमा भएको शिष्टाचार भेटमा उहाँले यस्तो धारणा राख्नुभएको हो । भेटमा काठमाडौँ र अरब क्षेत्रका सहरहरूको विकास प्रक्रिया, सहरी व्यवस्थापन तथा दुई पक्षबीचको आपसी सम्बन्ध विस्तारका विषयमा छलफल भएको थियो ।
भेटका क्रममा कार्यवाहक प्रमुख डंगोलले मध्यपूर्वका मुलुकहरूले नेपाली नागरिकलाई रोजगारीको अवसर उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा जाने नागरिकलाई सीपयुक्त बनाउन तथा सम्भावित जोखिमबाट जोगाउन महानगरपालिकाले सीप विकास र परामर्शका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
राजदूत मनिखरले नेपाल र साउदी अरेबियाका राजधानी सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्भावनाबारे चासो राख्नुभएको थियो । जवाफमा कार्यवाहक प्रमुख डंगोलले यस्तो सम्बन्ध स्थापनाप्रति महानगरपालिका सकारात्मक रहेको बताउनुभयो ।
भेटमा राजदूत मनिखरले काठमाडौँ महानगरपालिकाले सहरी व्यवस्थापन र विकासका क्षेत्रमा गरिरहेका कामबारे आफू जानकार रहेको उल्लेख गर्दै महानगरका प्रयास प्रभावकारी रहेको धारणा राख्नुभयो । उहाँले काठमाडौँको संस्कृति र जीवनशैली जीवन्त रहेको बताउँदै दरबारमार्गलगायत क्षेत्रको व्यावसायिक तथा पर्यटकीय विकासलाई सहरको समृद्धिको सूचकका रूपमा व्याख्या गर्नुभयो ।
राजदूत मनिखरले काठमाडौँमा सांस्कृतिक पर्यटन र नेपालमा हिमाली पर्यटनको सम्भावना प्रचुर रहेको उल्लेख गर्दै यी क्षेत्रमा थप सहकार्य र प्रवर्द्धनको अवसर रहेको बताउनुभयो ।


