नेवार समुदायलाई दलित सूचीमा राख्ने निर्णयप्रति एमालेको आपत्ति

काठमाडौँ,  १० मङ्सिर  । नेकपा एमालेको राजधानी प्रदेश कमिटीले नेवार समुदायका ३५ भन्दा बढी थरलाई दलित समुदायमा सूचीकृत गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न माग गरेको छ।

राजधानी प्रदेश कमिटीका अध्यक्ष नारायण सिलवालले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले २०८३ असोज ८ गते नेवार समुदायका विभिन्न ३५ भन्दा बढी थरलाई दलित सूचीमा समावेश गरी नेपाल राजपत्रमा प्रकाशित गरेको निर्णयप्रति आपत्ति जनाउनुभएको हो।

विज्ञप्तिमा उक्त निर्णयले नेवार समुदायको जातीय परम्परा, भाषा, मातृभाषा तथा संस्कृतिको अवमूल्यन गरेको उल्लेख गरिएको छ। साथै, सम्बन्धित सूचीबाट आफ्ना थर हटाउन नेवार समुदायले माग गरिरहेको जनाइएको छ।

एमाले राजधानी प्रदेश कमिटीले नेवार समुदायका अगुवा, संस्कृतिविद् तथा बुद्धिजीवीसँग परामर्श गरी उनीहरूको राय, सल्लाह र सुझावका आधारमा निर्णय लिन सरकारसँग माग गरेको छ।

सम्बन्धित समुदायको सहमतिबिना गरिएको सूचीकरण तत्काल खारेज गरी आवश्यक परिमार्जन गर्न पनि कमिटीले सरकारको ध्यानाकर्षण गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *