एमाले जनताको भरोसायोग्य पार्टी बन्नेछ’

दमौली (तनहुँ), ११ मङ्सिर।  नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीप्रति असन्तुष्ट रहेका जनता र कार्यकर्ताको विश्वास पुनः जित्दै एमालेलाई भरोसायोग्य पार्टी बनाउने बताउनुभएको छ ।

नेकपा (एमाले) तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले एक निर्वाचनमा पार्टी पराजित हुँदैमा राजनीतिक भविष्य समाप्त नहुने बताउँदै पार्टीलाई थप सशक्त र बलियो बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

“एउटा निर्वाचनमा एमाले पराजित भयो भन्दैमा पार्टीको भविष्य सकिएको छैन,” उहाँले भन्नुभयो, “पार्टीसँग रिसाएका जनता र कार्यकर्तालाई फर्काएर एमालेलाई जनताको भरोसायोग्य पार्टी बनाउँछौँ ।”

महासचिव पोखरेलले निर्वाचन परिणामलाई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने बताउनुभयो । जनताको विश्वास पुनः स्थापित गर्न नेता तथा कार्यकर्ता एकताबद्ध भएर पार्टी सुदृढीकरणमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

पार्टी सचिव खगराज अधिकारीले एमालेभित्र गुटबन्दी स्वीकार्य नहुने बताउँदै सङ्गठनको हितलाई प्राथमिकता दिएर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।

केन्द्रीय सदस्य भगवती न्यौपानेले निर्वाचन परिणामबाट निराश वा विचलित नभई पार्टीलाई थप व्यवस्थित र सुदृढ बनाउन नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *