पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’
काठमाडौँ, १२ मङ्सिर । नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्याएको भन्दै सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।
सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गर्नुभएको हो।
सङ्घका अनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा बैंकिङ क्षेत्रको विकासमा योगदान पुर्याउनुभएको छ।
सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै व्यावसायिक यात्रा अघि बढाउनुभएका पौड्यालले परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको सङ्घले जनाएको छ।
सम्मानपछि पौड्यालले चार दशक लामो आफ्नो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताउनुभयो।
कार्यक्रममा गभर्नर पौडेलले सरोकारवालासँगको संवादका आधारमा मौद्रिक नीति तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताउनुभयो। उहाँले सेयर बजार, विदेशी विनिमय, नियमन तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने जानकारी दिनुभयो।
विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बैंकहरूलाई मौद्रिक नीतिअनुकूल वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न तथा उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गर्नुभयो।
बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी र सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उहाँले आकारमा मात्र ठूलो नभई गुणस्तर र सुशासनका दृष्टिले सक्षम बैंक निर्माण गर्नुपर्ने बताउनुभयो।
यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उहाँ यसअघि सङ्घको उपाध्यक्ष हुनुहुन्थ्यो। साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।
निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो।
नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै कृषि तथा साना–मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिने बताउनुभयो। उहाँले सबै सरोकारवालासँग संवाद र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
