कीर्तिपुरमा बाघभैरवको भव्य जात्रा

काठमाडौं, १ भदौ । आज भाद्र संक्रान्ति । उपत्यकाको ऐतिहासिक नगर कीर्तिपुरको प्रमुख देवता बाघभैरवको आज हुँदैछ । हरेक वर्ष भदौ १ गते नै यो भैरवको जात्रा चलाउने गरिन्छ ।

जात्राका क्रममा कीर्तिपुर नगरपालिका वडा नं. १ स्थित बाघभैरव मन्दिर परिसरमा आज बिहानैदेखि भक्तजनहरूको भिड लागिरहेको छ । बाघभैरवको मन्दिर भित्र सधैँ पूजा गर्ने एउटा मूर्ति रहेको छ भने जात्राका बेला खटमा राखेर नगर परिक्रमा गराउन अर्कै मूर्ति प्रयोग गरिन्छ ।

आज जात्राका क्रममा बाघभैरवको खटमा राखिने मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई तल रहेको बाघभैरवकै कुवामा स्नान स्वरुप मुख धुने कार्य गरिन्छ । त्यसपछि मूर्तिलाई फेरि माथि लगेर मन्दिर परिसरमा राखिएको खटमा विराजमान गराइन्छ । खटमा विराजमान रहेकै बेला भक्तजनहरूले पूजाआजा गर्दछन् ।

यसै क्रममा मन्दिर भित्र रहेको बाघभैरवको मूल मूर्तिलाई पनि आज भव्यपूर्वक पूजाआजा गरिन्छ । मन्दिरमा रहेको मूल मूर्तिका लागि विभिन्न दाताहरूले सुन वा चाँदीका गहना बनाएर चढाएका छन् । आज ती सबै गहनाहरू फुकालेर सम्बन्धित दाताहरूले नै घरमा लिएर जान्छन् । त्यसमा कुनै मर्मत गर्नुपर्ने वा थप्नुपर्ने छ भने सोही अनुसार मर्मत गरी फेरि फर्काइन्छ र पुनः बाघभैरवको मूर्तिमै लगाएर शोभायमान बनाउने गरिन्छ ।

यो एक किसिमले आफूले चढाएका गहनाहरू सुरक्षित छ वा छैन भनी जाँच्ने र त्यसको नियमित मर्मत सम्भार गर्ने सांस्कृतिक परम्परा हो ।

यो कार्य सकिएपछि खटमा राखिएको मूर्तिलाई खट सहित मन्दिर परिसरबाट बाहिर ल्याई कीर्तिपुर नगर परिक्रमा गराइन्छ । खटलाई नगर परिक्रमा गराउँदा नायखिं, धिमे, काहा, बाँसुरी आदि जस्ता बाजा बजाउँदै उत्सव मनाउने गरिन्छ ।

यो खट जात्रा कीर्तिपुरको तःननि, भरयांपुखू, तुंझ्वः, तजाःफः, म्वानत्वाः, ल्वहंदेगः, बाकुननी, देपखू, कुतुझ्वः, बाहिगां, कुतिसाः, झिंनिह्राःतँ, समल, द्यःध्वाखा, गःछेँ, लायकू, सतःक्व हुँदै बाघभैरव परिसरमै पुगेर समापन गरिन्छ ।

जात्राका अवसरमा कीर्तिपुरमा छोरीचेली, भान्जीचेली लगायत आफन्त र साथीभाइ बोलाएर भोज खुवाउने चलन पनि रहेको छ ।

जात्राको इतिहासः

कीर्तिपुरमा मनाइने बाघभैरवको यो जात्रा वि.सं. २०१३ सालदेखि मात्रै मनाउन थालिएको हो । शुरुमा बाघभैरवको मूर्तिलाई ढकीमा राखेर बाघभैरव मन्दिर वरपर मात्रै परिक्रमा गराउने चलन थियो । २०४६ सालपछि छुट्टै खट बनाई अलि बढी क्षेत्रमा परिक्रमा गराउन थालियो ।

आजको दिनलाई बाघभैरवको स्थापना दिवसका रुपमा पनि लिने गरिन्छ । तर यो देवता कहिले स्थापना भयो भन्ने कुनै ठोस इतिहास भन्ने अहिलेसम्म भेटिएको छैन ।

बाघभैरवको उत्पत्ति

कीर्तिपुरमा बाघभैरवको उत्पत्ति कसरी भयो भन्ने विषयमा एक किंवदन्ती प्रचलित छ । बाघभैरवको मूर्तिमा एक बाघले मुखा आँऽ गरिएको देखिन्छ । तर बाघको मुखमा जिब्रो भने छैन । मुखमा जिब्रो किन रहेन भन्ने विषयमा किंवदन्ती केन्द्रित छ ।

कुनै बेला कीर्तिपुरको जंगलमा गाउँका बालबालिकाहरू बाख्रा चराउन जाने गर्दथे । बाख्रा चराउँदै गर्दा उनीहरु विभिन्न खेल खेली रमाइलो गर्दा रहेछन् । एक दिन उनीहरूले माटोको बाघको मूर्ति बनाएर खेल खेल्न थाले । बाघको मूर्ति बनाइसके पछि अब मुखमा एउटा जिब्रो हाल्नुपर्ला भनी ठिक्कको पात खोज्न हिँडे ।

त्यही बेला डुल्दै आएका महादेव पनि सोही ठाउँ पुगेछन् । महादेवलाई अत्यन्तै भोक लागेको रहेछ र त्यो दिन उनी मांशाहारी भोजन गर्ने उद्देश्यले त्यहाँ पुगेका रहेछन् । त्यसैले माटोको बाघको मूर्तिमै उनी प्रवेश भएर चराउन राखिएका बाख्राहरू खाइदिएछन् ।

जिब्रो खोज्न गएका बालबालिकाहरू फर्केर आउँदा त बाख्रा सबै सखाप भइसकेको रहेछ । बाख्रा कहाँ गयो भनी खोज्दै जाँदा उनीहरूले उही माटाको बाघको मुखमा रगत लतपतिएको देखेछन् । अनि त्यही बाघलाई ‘तिमीले हाम्रो बाख्रा खाएको हो ?’ भनी सोधेछन् । बाघले पनि हो भन्ने भावले टाउको हल्लाएछन् । त्यसपछि बालबालिकाहरूले रुँदै हाम्रो बाख्रा खाने तिम्रो मुखमा अब जिब्रो पनि हाल्दैनौँ भनी त्यसै छोडिदिएछन् । यसरी बाघभैरवको मुख जिब्रोविहिन पुग्यो ।

उता महादेवले आफूले गाउँलेको बाख्रा खाइदिएका कारण अब यो गाउँको रक्षा आफैले गर्नुपर्छ भन्ने ठानी गाउँको रक्षक बनी त्यहीं बस्न थाले । गाउँलेले पनि उनलाई आफ्नो रक्षककै रुपमा ‘धुँआजु’ नामले पुकार्न थाले ।

त्यतिबेला बनाइएको माटोको बाघको मूर्ति अझै पनि सुरक्षित रहेको विश्वास गरिन्छ । अहिले त्यसलाई सार्वजनिक प्रदर्शनीमा राख्न बन्द गरिएको छ ।

बाघभैरव मन्दिर

कीर्तिपुरको जुन ठाउँमा बाघभैरवको मन्दिर रहेको छ, त्यसैलाई वडा नं. १ बनाएर अहिले कीर्तिपुर नगरपालिकाको वडा विभाजन गरिएको छ । बाघभैरवको यो मन्दिर पनि अत्यन्त पुरानो मानिन्छ ।

यो प्यागोडा शैलीमा बनाइएको भए पनि यसको आकार भने आयताकार रहेको छ । काठमाडौं उपत्यकामा अक्सर गरी भिमसेनका मन्दिरहरू यसरी आयताकार रुपमा बनाइएको हुन्छ ।

यो मन्दिर चार तले रहेको छ । यो कसले बनायो भन्ने इतिहास पाइँदैन । आजसम्म पाँच पटक जीर्णोद्धार भइसकेको यो मन्दिर लिच्छविकालमै निर्माण भइसकेको अनुमान गरिएको छ ।

यो मन्दिरको तेस्रो तल्लामा केही पुराना हातहतियार पनि टाँगिएको देखिन्छ । यी हतियारहरू पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गर्दा छोडेर भागेको र त्यसलाई कीर्तिपुरवासीले संकलन गरेर सबैले देख्ने गरी मन्दिरको माथिल्लो तलामा टाँगिएको बताइन्छ ।

स्मरणीय छ, विसं १८१४ मा पृथ्वीनारायण शाहले तीन पटक आक्रमण गरेपछि मात्रै कीर्तिपुर जित्न सफल भएको थियो । कीर्तिपुरको बाघभैरव मन्दिरमा शाह राजाहरू आए भने रगत छाडी मृत्यु हुन्छ भन्ने कथन रहेका कारण त्यहाँ कोही पनि शाह राजाहरू गएनन् ।

तस्बिरः सन्देश मुनिकार