जलहरीमा एमालेको भ्रष्टाचार भन्नेलाई पशुपतिबाट बस्नेतको जवाफः सुनकाण्डमा भरिया मात्रै कि भीआइपी समात्ने ?

काठमाडौं, ३ भदौ । युवा संघ नेपाल काठमाडौं महानगर कमिटीले ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने नाराका साथ ‘एक युवा,पाँच बिरुवा एक महिने वृक्षारोपण कार्यक्रम’ चलाएको छ । सोही अभियान अन्तर्गत आज पशुपतिनाथ क्षेत्रको कैलाश डाडाँ क्षेत्रमा १ सय ५१ वटा विभिन्न प्रजातिका बिरुवाहरु वृक्षारोपण गरेको छ । नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य समेत रहनु भएको युवा संघ इञ्चार्ज महेश बस्नेतको प्रमुख आथित्यतामा युवा संघले वृक्षारोपन गरेको हो ।

वृक्षारोपन कार्यक्रममा सम्वोधन गर्दै बस्नेतले आगामी निर्वाचनमा नेकपा (एमाले)लाई पहिलो शक्ति बनाउने र बहुमतको सरकार बनाउने हाम्रो लक्ष्यसहित यस्ता अभियानहरु सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले युवा संघ नेपाल ‘आगामी निर्वाचनको लक्ष्य नयाँ पुस्तामा केन्द्रित’ अभियानसहित अघि बढेको पनि स्मरण गराउनुभयो । ‘त्यहि भएर हामीले नयाँ पुस्तालाई बढी केन्द्रित गरेका छौँ,’ ‘हामी नेकपा (एमाले)लाई युवाहरुको पार्टी बनाउँदै छौँ ।’ उहाँले प्रदेश, जिल्ला, गाउँ र वडा तहसम्मका अधिवेशनमा अब ४० वर्ष नपुगेका युवाहरुको प्रतिनिधित्वलाई ‘एक तिहाई युवा प्रतिनिधित्व सुनिश्चित गर्ने’ पार्टीको अन्तर पार्टी निर्देशन नै रहेको जानकारी गराउनुभयो ।

‘हामीले त्यो निर्णयलाई सिर्जनात्मक रुपले अघि बढाउने निर्णय गरेको छौँ । त्यो भनेको ४० वर्ष मुनिका युवाको सहभागिता प्रदेश कमिटीमा न्यूनतम १० प्रतिशत रहने छ । जिल्लामा न्यूनतम १५ प्रतिशत रहने छ भने पालिकामा न्युनतम २० प्रतिशत र वडा तथा टोलहरुमा कम्तिमा एक तिहाई पु¥याउने छौँ ।’

उहाँले राष्ट्रिय युवा संघले पनि आफ्नो संगठनलाई नयाँ युवाहरुको संगठन बनाउ खोजिरहेको जानकारी दिनुभयो । ‘युवा संले १६ देखि २४ वर्षसम्मका नवयुवाहरुलाई यो संगठनमा समेट्ने उदेश्य लिएको छ । यो अभियान भनेको नगर र टोलसम्म युवा संघ गठन गर्ने अभियान हो,’ उहाँले भन्नुभयो, ‘यो अभियान खेलकुद र रचनात्मक–सिर्जनात्मक ढंगबाट युवालाई आवद्ध गर्ने अभियान हो । बृक्षरोपन, रक्तदान, सदस्यता वितरण जस्ता गतिविधिबाट युवालाई मानवीय सेवामा समर्पित गराउँदै सरचनात्मक, सिर्जनात्मक बनाउने अभियान पनि हो । यस्ता अभियानले युवापुस्तामा राजनीतिप्रतिको आकर्षण बढ्नेछ भन्ने हामीले आशा लिएका छौँ ।’

बस्नेतले नयाँ पुस्तालाई सूचना–प्रविधिको प्रयोगबाट अहिले नयाँ शक्ति बन्नेहरुले निश्चित सञ्चारमाध्ययम र निश्चित वाररुमहरु चलाएर गलत ढंगले दुरुपयोग गरेर नेकपा (एमाले) लगाएतका दलहरुप्रति सोलोडोलो रुपमा भ्रम फैलाउने गतिविधि गरको आरोप लगाउनुभयो । ‘उनीहरुले जुन गतिविधि गर्दै आएका छन् । हाम्रा यस्ता अभियानले ती भ्रम चिर्ने छौँ,’ उहाँले भन्नुभयो, ‘सूचना–प्रविधिमा पोख्त नवयुवालाई यो अभियानसँगै जोडेर उनीहरुलाई पनि साथमा लिएर अघि बढ्ने छौँ । यो अभियानसँगै हाम्रो आगामी निर्वाचनको ‘मिशन फिप्टी प्लस’ अभियान सफल हुनेछ ।’

बस्नेतले वर्तमान सरकारले अहिले भ्रष्ट्राचार, तस्करीलाई संरक्षण गर्दै आएको दृष्टान्त पनि उल्लेख गर्नुभयो । ‘आजै मात्रै पनि सीआइवीले तलिता निवास काण्डको फायल पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, पूर्वमन्त्री विजयकुमार गच्छदारहरुको बयान नै नलिई बुझाएको छ । हामीले यो फायल खोल्ने होइन फायल मिलाउने अभियान हो भनेको थियौँ । हामीले जे भनेका थियौँ । त्यहि पुष्टि भएको छ,’ उहाँले भन्नुभयो, ‘दोषी भनिएका शक्तिशाली व्यक्तिहरुलाई यसले कारवाहीको दायरामा ल्याउँदैन भनेर हामीले भनेका थियौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले जुनसुकै दलमा भए पनि कानुनी दायरामा ल्याउँछौ भनेर निकै जोसका साथ भनेका थिए । तर, त्यो देखिएन ।’

नक्कली भुटानी शरणार्थी काण्डमा निकै राम्रो काम गरिरहनु भएका प्रहरी अधिकारीहरुको सरुवालाई पनि उहाँले वर्तमान सकारको गलत काम भएको उल्लेख गर्नुभयो । ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उपेन्द्र यादव, माधवकुमार नेपालसँगै नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका नेपाली कांग्रेसका नेताहरुले दबाब दिनुभयो,’ उहाँले भन्नुभयो, ‘देउवाले प्रधानमन्त्री प्रचण्डलाई दबाब दिनुभयो । त्यति मात्रै होइन नक्कली भुटानी शरणार्थी काण्डमा आरजु देउवा, मञ्जु खाँड र स्वमं प्रचण्डको पनि नाम आएको छ । छानविन उहाँलाई गर्नुपर्ने छ । तर, अहिले त्यो काम सरकारले गरेको छैन । यो भनेको सरकारले गलत गरिहेको छ ।’

विमानस्थलबाट गृहमन्त्रालय र अर्थमन्त्रालयको समेत संलग्नतामा सुन खुलमखुला तस्करी भएको भन्दै पक्राउ गरेका सुन तस्करीमा संलग्नहरुको संलग्नता राष्ट्रपति रामचन्द्र पौडेलदेखि कांग्रेस नेताहरु प्रकाशसरण महतलगायतसँग भएको देखिनु पनि सरकार नै त्यसमा संलग्न भएको पुष्टि हुने उहाँको तर्क थियो । ‘माओवादीका नेता वर्षमान पुनदेखि पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनसम्म पनि ती तस्करहरुको उठबस रहेको देखिन्छ । त्यसलाई ढाकछोप गर्न माओवादीबाट सञ्चालित सञ्चारमाध्ययमबाट एमालेका नेताहरुलाई मुछेका समाचार योजनावद्ध रुपमा बाहिर ल्याउने हर्कत गरिन्छ । हामीले उनीहरुका यस्तै हर्कत देखेर उच्चस्तरीय न्यायिक समितिको माग गरेका हौं,’ बस्नेतले भन्नुभयो, ‘यो समाधान नरहुन्जे सांसदहरुले संसद र युवा संघलगायतले मैदानबाट संघर्ष गर्ने हो ।’

एक युवा पाँच विरुवा अभियान प्रभावकारी अभियान भएको भन्दै बस्तेलले काठमाडौंको युवा संघ अहिले निकै सक्रिय बनेकाले खुशी लागेको बताउनुभयो । ‘पशुपति जस्तो पवित्र भूमिमा वृक्षारोपन गरेर यो पवित्र ठाउँलाई अझ पवित्र बनाउ तपाईँहरु लाग्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु,’ उहाँले भन्नुभयो, ‘यो पशुपतिमा जलहरीको काण्ड बनाएर एमालेलाई आरोप लगाउने प्रयास भयो । त्यो पुष्टि नभएपछि तत्कालिन राष्ट्रपति र प्रधानमन्त्रीको नाम जलहरीमा लेखियो भनेर आरोप लगाउने काम भयो । त्यो आरोप पनि पुष्टि भएन । इमान्दार नेता र कार्यकर्ता भएको पार्टी नेपालमा एमाले मात्रै हो । सही नीति, विचार र कार्यक्रम भएको पार्टी हो ।’

कार्यक्रममा एमाले महानगर कमिटीका अध्यक्ष, युवा संघ महानगर कमिटीका अध्यक्षलगायतले पनि यस्ता अभियानले युवालाई आकर्षित गर्न फलदायी हुने बताउनुभयो ।